स्थानीय उत्पादनको प्रवद्धनका लागि अन्तराष्ट्रियस्तरको प्रर्दशनी केन्द्र आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा अन्तराष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र स्थापना गर्नुपर्ने बताएका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन एवं निर्यात वृद्धि गरी आयात व्यवस्थापन गर्न अन्तराष्ट्रियस्तरको प्रर्दशनी केन्द्र स्थापना गर्न आवश्यक रहेको उनले बताए ।
चेम्बर अफ कमर्सको ७४ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले भने, ‘अन्तराष्ट्रियस्तरको प्रर्दशनी केन्द्र स्थापना गर्न सकियो भने स्थानीय उत्पादनहरुको एकीकृत प्रर्वद्धन, बजारीकरण एवं एक द्धार प्रणाली मार्फत गुणस्तर मापन गर्न सकिन्छ, ।’ रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमुलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्र्नुपर्ने अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भईरहेको सन्दर्भमा अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमुलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्दछ, ।’
मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अपरिहार्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनको लागि पनि आन्तरिक उत्पादन अनिवार्य रहेको अध्यक्ष अग्रवालले बताए ।
तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेकोमा अग्रवालले जोड दिए ।
नेपाल उज्यालो युगमा प्रवेश गरिरहँदा विद्युत उत्पादनको क्षेत्रमा अझै पनि नीतिगत चुनौतीहरु देखापरेको अध्यक्ष अग्रवालले बताए । ऊर्जा विधयेकमा उल्लेखित प्रावधान, अदालतबाट आएका फैसला र बन मन्त्रालयबाट आएका निर्देशिकाले जलविद्युत आयोजनाहरुको निर्माणमा गम्भिर चुनौती खडा गरेको अध्यक्ष अग्रवालले बताए ।

प्रतिक्रिया