वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माले गरे अपिल

नेपालखोज २०८१ चैत २७ गते १६:४५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री केसी समूहलाई वार्ता र संवादद्वारा संस्थामा एकताको वातावरण बनाउन पहल गर्न अपिल गरेका छन् ।

केसी समूहले गत मंगलबार एक इमेल पठाउँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्पूर्ण सल्लाहकार, पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं अन्य पदाधिकारी लगायत एनआरएन अभियन्तालाई १६ अप्रिलभित्र काठमाडौं आइपुग्न सूचना गरे पछि अभियन्ता शर्माले त्यस्तो अपिल गरेका हुन् ।

एनआरएनए उच्चस्तरीय समितिले मे महिनाको ३,४ र ५ मा काठमाडौंमै एकताको महाधिवेशन गर्न लागेको सन्दर्भमा त्यसलाई नै लक्षित गरेर केसीले आफू निकटस्थलाई काठमाडौँ बोलाएका हुन् ।

भौतिकरूपमा नेपालमा उपस्थितिका लागि अनुरोध गरिएको पत्रमा गैर आवासीय नेपाली संघमा हाल सिर्जना भएको जटिल परिस्थिति तथा यसको निकासको उपाय पहिचान गर्न तथा संघले उठान गर्दै आएका विभिन्न मुद्दा एवं विषयवस्तुमा प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री आरजु राणा, गृह मन्त्री रमेश लेखक, कानूनमन्त्री अजय चौरसियालाई भेटेर छलफल गर्ने उल्लेख छ । यस्तै प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग प्रत्यक्ष भेटघाट तथा छलफल पनि गर्ने भनिएको छ ।

अभियन्ता शर्माले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक पत्राचार गर्दा पनि संघको सचिवालय उपलब्ध नगराइएकोमा दुख व्यक्त गरे । उनले सर्वोच्चको निर्देशन बमोजिम उच्चस्तरीय समितिलाई एमआइएस प्रणाली लगायत सचिवालयमा पहुँच दिन आग्रह गरे ।

यसबाट वातावरण सहज हुने र निकास निकाल्न पनि मदत पुग्ने उनले बताए ।

प्रतिक्रिया