जहाँ देवीलाई चढाइन्छ दाम्लो

गोरखा । भक्तजन मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, ‘फूल, अक्षता, भेटी अनि नैवेद्य ।’ कोही भक्तजनले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ ।
गोरखा नगरपालिका-५, पस्लाङस्थित नाम्रुङदेवी थानमा पूजाआजा गरेर ‘दाम्लो’ चढाउने सयौँ वर्षदेखिको चलन अहिले पनि कायमै छ । मन्दिरमा दाम्लो चढाउन गोरखा र आसपासका जिल्लाबाट समेत भक्तजन आउने गरेको उनले बताए । किसानले पशुपालन फस्टाउन्, बालीबाली राम्रो होस्, रोगव्याध नफैलियोस्, दूध पर्याप्त देओस् भनेर पूजा गरी दाम्लो चढाउने गरेको उनको भनाइ छ ।
नाम्रुङदेवीथानमा स्थानीय जातको कुखुराको अण्डा गाडेर मौसम परीक्षण गर्ने चलन पनि छ । अण्डा बिग्रिएमा हुरीबतास, असिनापात, भेल, बाढी, वर्षा, डढेलो वा महामारीले गाउँलेलाई दु:ख दिने जनविश्वास छ ।
यहाँ दाम्लो चढाएर पूजा गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने एकिन नभए पनि तनहुँसुरमा मुकुन्दसेन द्वितीय राजा र गोरखामा नरभूपाल शाह राजा हुँदादेखि पूजा गर्ने गरेको अभिलेख भेटिने गोरखा सङ्ग्रहालयका पूर्वकर्मचारी, इतिहासका जानकार गणेशप्रसाद भट्टराई बताउछन् ।
उनका अनुसार नाम्रुङदेवीथानमा असारको पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने चलन छ । दैनिक नियमित पूजा पनि हुने गर्छ । पूजारी भने मगर समुदायबाट चुनिन्छन् । यहाँ कुखुरा, परेवा, बोका पाठा बलि चढाइने भट्टराईले बताए । पहिले सरकारले पूजा खर्च दिने गरेकामा केही वर्षयता खर्च कटौती गरिएको छ ।

प्रतिक्रिया