‘रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धि जरूरी’

काठमाडौं । पुन:स्थापनात्मक पर्यटन ‘रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धिसँगै ज्ञान र सीपसहित यसतर्फ आकर्षण गर्ने उद्देश्यले एक अन्तरक्रिया गरिएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ब्याच्लर अफ ट्राभल एन्ड टुरिजम (बिटिटिएम) का पाँचौँ सत्रका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरूले कार्यपत्र प्रस्तुतसहित प्रशिक्षण दिएका थिए ।
नाथमका कार्यकारी निर्देशक सङ्गीता ओझाले कार्यक्रमले युवा पर्यटनकर्मीलाई आगामी दिनमा पर्यटन क्षेत्रमा व्यावहारिक रूपमा लागू गर्न तथा पर्यटनको अनुसन्धान र सरकारी नीति निर्माणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले कुनै पनि मुलुकले दिगो पर्यटनलाई प्राथमिकता दिए पनि रिजेनेरेटिभ पर्यटनबारे खासै ध्यान नदिइएको सन्दर्भमा नेपालमा आगामी दिनमा नीतिगत रूपमा सुधार गर्न सहयोग पुग्ने बताए ।
‘सस्टेनेबल टुरिजम टू रिजेनरेटिभ टुरिजम’ शीर्षकमा विशेष वक्ता सोसियल टुर्सका संस्थापक राज ज्ञवालीले रिजेनेरेटिभ टुरिजमको अवधारणा र भविष्यको पर्यटनबारे प्रस्तुति दिनुभएको थियो । छलफल सत्रमा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव युबिका भण्डारी, कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय अमात्य र पर्यटन अनुसन्धानकर्ता राक्सितबहादुर खड्का सहभागी थिए ।
विशेष वक्ता ज्ञवालीले पर्यटनलाई दिगो बनाउन गुणस्तरीयतामा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । पर्यटनलाई नयाँ ढङ्गले पुनस्र्थापना गर्न युवापुस्तालाई यसप्रति प्रोत्साहन र दक्षता अभिवृद्धि गर्न रिजेनेरेटिभ टुरिजम अपरिहार्यता भएको बताए । उनले पर्यटनमा स्थानीयको सहभागितालाई सुनिश्चित गरिएको खण्डमा मात्रै दिगो पर्यटन सार्थक हुने धारणा राखे ।
नाट्टाका महासचिव युबिका भण्डारीले समयक्रमसँगै रिजेनेरेटिभ टुरिजम ट्रेन आएको भन्दै पर्यटनलाई नयाँ तौर तरिकाले विकास र यसको पहुँच स्थानीयस्तरमा जोड्नका लागि महत्वपूर्ण रहेको बताए । उनले भने, नेपालले विगतमा पनि रिजेनेरेटिभ टुरिजममा काम गर्दै आएको छ । संरक्षण क्षेत्रलाई उदाहरणका रूपमा लिन सकिन्छ । हामीले दिगो पर्यटन मात्रै ध्यान दिएको भए अहिलेको अवस्थामा आउन कठिन हुनेथियो । पर्यटनले प्रकृतिलाई कसरी अपडेट गर्छ अहिलेको पुस्ताले पर्यावरणमैत्री पर्यटनलाईसँगै लैजान पनि ध्यान खिच्छ ।
कोरा टुर्सका सिइओ विजय अमात्यले रिजेनेरेटिभ पर्यटनको अवधारणमा विश्वमा विगत १० वर्षदेखि आएको र नेपालले पछिल्ला वर्षहरूमा यसको आवश्यकता र सान्दर्भिकताबारे बहस गरिरहेको भन्दै नेपालको सन्दर्भमा यो अपरिहार्य भएको बताए ।
पर्यटन प्रशिक्षक डम्बरराज भट्टले दिगो पर्यटनमा भएका कामलाई पुनः नयाँ सोच र अवधारणका साथ लैजान उदाहरणका रूपमा लोप भइसकेका संस्कृतिलाई पुनर्जागृत गर्ने, वन वन्यजन्तु र वातावरण संरक्षणसँगै पर्यटन अगाडि बढाउने नयाँ अवधारणाका रूपमा रिजेनेरेटिभ टुरिजमको अवधारणा विकास भएको उल्लेख गरे ।
यस कार्यक्रमले नेपालको पर्यटन उद्योगको भविष्यका बारेमा सोच र अवधारणा तयार गर्नाका साथै दिगोबाट पुनरूत्थानात्मक पर्यटनमा सरेर, नेपालले आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण मात्रै गर्दैन, वृद्धि गर्ने जिम्मेवार पर्यटन गन्तव्यका रूपमा आफ्नो स्थिति बलियो बनाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्ने आयोजकको भनाइ छ ।
कार्यक्रममा नेपाली वास्तुकला, माटोको कला, बाँसका सामग्रीहरू प्रदर्शनी गरिएको थियो ।
प्रतिक्रिया