शुक्रबार, वैशाख १२, २०८२

सुरक्षित पानी र सरसफाईका लागि अन्तर-निकाय समन्वय अपरिहार्य : मन्त्री यादव

नेपालखोज २०८१ चैत २८ गते ११:२१

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा ढल व्यवस्थापनको क्षेत्रमा दीगो विकास सुनिश्चित गर्न र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन क्षेत्रीय, संस्थागत तथा अन्तर-निकाय समन्वय अपरिहार्य रहेको बताएकी छन् ।

बिहीबार खानेपानी मन्त्रालय र अन्तर्राष्ट्रिय संस्था इसिमोडबीच भएको सहकार्य सम्झौता कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल सरकारअन्तर्गतका २२ मन्त्रालयमध्ये खानेपानी मन्त्रालयले अत्यन्तै संवेदनशील र जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवा पु¥याइरहेको उल्लेख गरे । उनले मन्त्रालयले नीति निर्माणदेखि कार्यान्वयन, अनुगमन, मूल्यांकन र समन्वयसम्मका काम सम्हाल्दै आएको जानकारी दिए ।

उनले मन्त्रालय र इसिमोडबीचको सहकार्य नेपालको पहाडी तथा तराई क्षेत्रका समुदायमा दिगो, सुरक्षित र गुणस्तरीय पानी तथा सरसफाई सेवा पु¥याउने साझा उद्देश्यसहित अघि बढेको स्पष्ट पारे । साथै, अनुसन्धान, प्रविधिको हस्तान्तरण, क्षमता अभिवृद्धि तथा सूचनाको आदानप्रदानलाई सहकार्यले सघाउने विश्वास व्यक्त गरे ।

मन्त्री यादवले जलवायु परिवर्तन र भूकम्पका असरका कारण हिमाल कालो हुँदै गएका र तराई-मधेसमा भूमिगत जलस्रोत घट्दै गएको अवस्थामा सुरक्षित पानीको आपूर्ति एक चुनौतीकोरूपमा देखिएको बताए । उनले भर्खरै नेपाल र भारत तथा खानेपानी मन्त्रालय र ऊर्जा मन्त्रालयबीच भएका सम्झौताले पनि यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले सहकार्य सम्झौताले सुक्दै गएका पानीका मुहान पुनः सक्रिय गराउने र दीगो पानी व्यवस्थापनतर्फ ठोस योगदान दिने विश्वास व्यक्त गरे ।

सम्झौतापत्रमा मन्त्रालयका सहसचिव ई. मीना श्रेष्ठ र इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले हस्ताक्षर गरेका थिए । कार्यक्रममा मन्त्रालयका सहसचिव ई. रमाकान्त दुवाडि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ लगायत इसिमोड र मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया