शनिबार, वैशाख १३, २०८२

अमेरिकी सहायता कटौतीले अफगानिस्तानमा लाखौं मानिसलाई भोकमरीको खतरा

नेपालखोज २०८१ चैत २९ गते १६:३४

काठमाडौं । अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस भोकमरीको गम्भीर जोखिममा परेका छन् । संयुक्त राष्ट्र अन्तर्गतको खाद्य सहायता कार्यक्रम (डब्लुएफपी)का अनुसार अहिले उनीहरूसँग सीमित स्रोत मात्र बाँकी छ, जसले गर्दा सबैलाई आवश्यक सहायता दिन असम्भव भएको छ ।

डब्लुएफपीका अनुसार अफगानिस्तानमा करिब ४५ लाख मानिसलाई खाद्य सहायता आवश्यक छ । तीमध्ये ३१ लाख मानिस अकालको मुखमा छन् । अहिलेको अवस्थाअनुसार, वर्षभरि जम्मा आठ लाख मानिसलाई आधा परिमाणमा मात्र सहायता दिन सकिनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि सबै विदेशी सहायता तीन महिनाका लागि रोक्ने निर्णय गरे । आपतकालीन सहायता छुट हुने भनिए पनि अफगानिस्तानसहित १४ देशका लागि सहायता कटौती गरिएको छ । केही देशको सहायता पछि पुनः बहाल गरिएको भए पनि अफगानिस्तानमा कटौती यथावत् छ ।

संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा बेरोजगारी, गरिबी र अन्य देशबाट फिर्ता आएका मानिसहरूका कारण स्थिति झन् जटिल हुँदै गएको छ । खाद्यान्नको अभाव, कृषि क्षेत्रमा समस्या र पोषणको कमीले लाखौं जनताको जीवन सङ्कटमा परेको छ ।

प्रतिक्रिया