पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज

नेपालखोज २०८१ चैत ३० गते १२:३१

काठमाडौं । पेरुका राष्ट्रपति डिना बोलुआर्टेले गैरकानुनीरूपमा ‘रोलेक्सगेट’ घडी उपहार लिएको अभियोगमा संसद्मा महाभियोग लगाउन गरेको तयारीलाई रोकेको छ ।

संसदीय छानबिन उप-समितिले उनले उक्त घडी गैरकानुनी रूपमा उपहार (घुस) लिएको भन्ने आरोपमा कुनै सत्यता नभएको तर उक्त घडी राष्ट्रपतिका साथीले पैसा तिर्नेगरी किनिदिएको ठहर गर्दै उहाँलाई भ्रष्टाचार आरोप र महाभियोगको सामना गर्नुपर्ने प्रस्तावबाट जोगाएको छ ।

यससँगैै पेरुको कङ्ग्रेसले उहाँविरूद्धको भ्रष्टाचारको अनुसन्धान रोकेको छ ।

उक्त आरोपमाथि सुनुवाई गर्दै उपसमितिले राष्ट्रपतिको गहिरो अलोकप्रियतालाई थप बिगार्न सक्ने उक्त मुद्दा खारेज गर्न शुक्रबार सिफारिस गरेको थियो ।

सन् २०२६ को जुलाईमा ६२ वर्षीया बोलुआर्टेले पद छोड्दा र राष्ट्रपतिको उन्मुक्ति गुमाउँदा उहाँमाथिको यो मुद्दामा अझै पनि सफाई नहुन सक्छ ।

सन् २०२४ को मार्चमा राष्ट्रपतिसँग रहेको अघोषित महङ्गो रोलेक्स घडी र गहनाको भण्डार फेला परेपछि तथाकथित ‘रोलेक्सगेट स्क्यान्डल’ सुरु भएको थियो ।

बोलुआर्टेले अभियोजकसमक्ष घडीहरू एक मित्रद्वारा पैसा तिर्नेगरी किनिदिएको बताएपनि महान्यायाधिवक्ताले कंग्रेसमा त्यसलाई घूस स्वरूप आर्जन गरेको सम्पत्तिका रूपमा औपचारिक आरोप प्रस्तुत गरेकी थिइन् ।

समर्थन अनुमोदन दर एकल अङ्कमा रहेका राष्ट्रपतिको संसद्मा कुनै पार्टी वा नेतृत्व रहेको छैन, तर सत्तारूढ कन्जरभेटिभ पार्टीहरूको समर्थन छ ।

सन् २०२३ मा नाकको शल्यक्रियाका लागि दुई हप्तासम्म अघोषित रूपमा अनुपस्थित भएको विषयमा उनले छुट्टै छानबिनको सामना गर्नुपरेको छ, जुन उहाँले कस्मेटिक उद्देश्यले नभई मेडिकल उपचारका लागि गरिएको बताएकी थिइन् ।

प्रतिक्रिया