जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रमा देशभरका विद्यालयमा पाठ्पुस्तक उपलब्धताको स्थिति मूल्याङ्कन गरी यसलाई थप प्रभावकारी बनाउन आगामी वैशाख पहिलो सातादेखि देशव्यापी अनुगमन गर्ने भएको छ ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले हाल देशभरका एक हजार दुई सय ६७ सूचीकृत बिक्रेताहरूको सङ्गठनात्मक सञ्जालमार्फत पाठ्यपुस्तक बिक्री वितरण भइरहेको र त्यसको थप प्रभावकारिताका लागि देशव्यापी अनुगमन गरिने जानकारी दिए ।
त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, पुस्तक व्यवसायी सङ्घ र अभिभावक सङ्घलगायतका प्रतिनिधि रहनेगरी केन्द्रीय अनुगमन संयन्त्र तयार गरिएको उनले बताए ।
‘हाल देशभरका विद्यालय, स्थानीय तह, जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ, पुस्तक व्यवसायी सङ्घ, अभिभावक सङ्घलगायत सरोकारवालाहरूबीच आपसी समन्वयमा पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता गरिएको छ । यसलाई थप प्रभावकारी बनाउन वैशाख पहिलो सातादेखि देशव्यापी अनुगमन गरिने छ । जसले पाठ्यपुस्तक उपलब्धताको स्थिति र अन्य समस्याको पहिचान गरी आवश्यक सहजीकरण गर्नेछ’, प्रबन्ध निर्देशक पौडेलले भने ।
केन्द्रले यही चैत मसान्तसम्म देशका ७७ वटै जिल्लामा ८० लाख थानभन्दा बढी पाठ्यपुस्तक बिक्रि वितरण भइसकेका, अधिकांश हिमाली तथा पहाडी जिल्लामा पुस्तक पुगिसकेका र सुगम तथा तराईका जिल्लाहरूमा निरन्तर बिक्रि वितरण भइरहेको जानकारी दिएको छ ।
आफ्नो जिम्मेवारीमा रहेका विद्यालयस्तरीय पाठ्यपुस्तक नयाँ शैक्षिक सत्र सुरुआतसँगै विद्यार्थीको हातहातमा पुर्याउने सुनिश्चितता गरिएको र त्यसका लागि आफ्ना सम्पूर्ण संयन्त्र क्रियाशील रहेका केन्द्रले जनाएको छ ।
नेपाल सरकारले केन्द्रलाई कक्षा एक, दुई र चारबाहेक कक्षा १२ सम्मका पाठ्यपुस्तक उत्पादन तथा बिक्री विरण गर्ने जिम्मेवारी दिएको छ । ती तीन वटा कक्षाका पाठ्यपुस्तक उत्पादन गर्ने जिम्मा भने निजी क्षेत्रलाई दिइएको छ ।
गत शैक्षिक सत्र २०८१ मा एक करोड ३९ लाख थान पाठ्यपुस्तक छपाइ गरी विद्यार्थीको हातहातमा पु¥याएको केन्द्रले यस वर्ष विद्यार्थीको सङ्ख्याका आधारमा एक करोड ५६ लाख थान पाठ्यपुस्तक पु-याउने लक्ष्य लिएको केन्द्रका प्रबन्धक निर्देशक पौडेलले बताए ।
विद्यार्थी सङ्ख्या र थप आवश्यकतालाई मध्यनजर गरी एक करोड ७० लाख थान पाठ्यपुस्तक उत्पादन गरी केन्द्रीय कार्यालय र मातहतका सात वटा प्रादेशिक कार्यालयमा समयमै पु-याइसकिएको उनले जानकारी दिए ।
‘पछिल्ला केही वर्षयता हामीले समयमै पाठ्यपुस्तक छपाई गरी विद्यालयमा पु¥याउने काम गरिरहेका छौँ, यसपटक पनि मातहतका निकायमा समयमै पाठ्यपुस्तक पु-याइसकिएको छ । केन्द्र र प्रादेशिक कार्यालय विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा आफ्ना प्रादेशिक कार्यालय तथा पाठ्यपुस्तक बिक्री वितरणका लागि एक हजार दुई सय ६७ सूचीकृत बिक्रेताहरूको संगठनात्मक सञ्जाल तयार गरिएको छ’, प्रबन्ध निर्देशक पौडेलले भने, ‘विगतका अनुभव र सिकाइ तथा कमजोरीको समीक्षा गरी पाठ्यपुस्तक उपलब्धताको सुनिश्चिता गरिएको छ । सबै सरोकारवाला निकायसँग समन्वय गरी प्रभावकारी बनाउन हामी लागिरहेका छौँ ।’
कक्षा ११ र १२ को नयाँ शैक्षिक सत्रका लागि पनि केन्द्रले आफ्नो मुद्रणालयबाट १२ लाख थान पाठ्यपुस्तक उत्पादन गरिरहेको जनाएको छ । रासस
प्रतिक्रिया