फूलबारी मेलामा भक्तजनको घुइँचो
सिरहा । नयाँवर्षका दिन मात्र फूल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न सिरहाको लहानस्थित पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आज मेला लागेको छ ।
नयाँ वर्षको अवसर पारेर प्रत्यक वर्ष वैशाख १ गते लाग्ने मेलामा यसवर्ष पनि बिहानैदेखि हजाराैं भक्तजनको घुइँचो लागेको छ । लहान नगरपालिका–१२ र २२ मा पर्ने यस फूलबारी परिसरको सलहेशको मन्दिरअगाडि रहेको हारमको रुखमा यसवर्ष पनि सुनाखरी फूल फुलेको मेला समितिका अध्यक्ष जयकान्त चौधरीले जानकारी दिए ।
उनका अनुसार करिब नौ बिघा क्षेत्रफलमा फैलिएको यस फूलबारीमा मेला भर्न नेपाल तथा भारतका विभिन्न राज्यबाट हजारौँ श्रद्धालूहरू पूजापाठ गर्न आउँछन् । भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
सलेहश गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ ।
आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसको भीड लाग्ने गरेको मन्दिरका पुजारी जीतेन्द्रसिंह धामीले जानकारी दिए ।
उनै १४औँ शताब्दीका राजा सलहेसको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ ।
राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र चौधौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वाससमेत रहेको छ । रासस

प्रतिक्रिया