नयाँ वर्ष तथा नेवाःहरुले मनाउने बिस्काः नखः

सम्भवत उपत्यका भित्र मनाइने सबैभन्दा पुरानो जात्रामा बिस्का: पनि पर्दछ । यसलाई लिच्छवी कालदेखी नै मनाइदै आएको भन्ने मान्यता छ । बैशाख संक्रान्तिको अघिल्लो दिन यस पर्व मनाउन शुरु भएर नयाँ वर्षको दिन समाप्त हुने चलन छ । यो जात्राले पुरानो सालको बिदाई र नयाँ सालको स्वागत एक साथ गर्ने गर्दछ ।
बैशाखमा हामी नयाँ वर्ष मनाउँछौ । तर सातौ शताव्दीमा महिनाहरुको शुरु भइसकेको थिएन तर राशीका नामहरु शुरु भइसकेको थियो । जसअनुसार मेष राशीबाट वर्षको शुरुवात हुन्थ्यो भने मीन राशीमा पुगेर वर्षको अन्त्य हुन्थ्यो । मेष राशीमा सूर्यले प्रवेश गर्ने यस दिनलाई विषुवत संक्रान्ति पनि भन्ने गरिन्छ । विषुवत दिनलाई अंग्रेजीमा Equinox Day भनिन्छ । यस दिनमा दिन र रात बराबर हुन्थ्यो । तर अचेल हुदैन । अंग्रेजी महिना मार्च 21 मा दिन र रात बराबर हुन्छ । तसर्थ चैतको ७-८ गते तिर नै विषुवत दिन हुने गर्दछ । तर हामी २५-२६ दिन पछि नयाँ वर्ष मनाइहेका छौ । यहाँ विज्ञहरु नै सूर्य विषुवत रेखामा प्रवेश गर्ने भएको हुँदा विषुवत संक्रान्ति भनिएको भन्ने प्रचार गर्ने गर्दछन् । हामीले बनाउँदै र हेर्दै आएको पात्रो तथा क्यालेन्डर सबै गलत छन् । पर्व सुधार समितीले यस सम्वन्धी जानकारी नेपाल सरकारलाई दिईए पनि सुधार गरिएको छैन ।
बिस्का: सम्वन्धि धेरै किंवदन्ती प्रचलित छन । बिभिन्न मल्ल राजाको समयमा विभिन्न कथा गाँसिएका छन् । काशी विश्वनाथलाई पनि बिस्केट जात्रासंग गाँसेको पाउँछौं । कुनै बेला विश्वनाथ बिस्काः हेर्न आउँदा तान्त्रिकले थाहा पाएर तान्त्रिक शक्तिले समाउन खोज्दा टाउको छुटाएर शरीर मात्र काशी फर्केको किंवदन्ती छ । नेपालमा छोडिएको शिरलाई नै यस जात्रामा रथ यात्रा गरेर मनाउने गरिन्छ ।
बिस्का:को मूल देवता नै विश्वनाथ भैरव हुन् । विश्वनाथ भैरव काशी विश्वनाथको शिर होइन, त्यतिबेला लिच्छविहरु तथा तान्त्रिकहरुका गुरु भैरव हुन । त्यसैले बिस्का:मा भैरवीको रुपमा नकिंजु अजिमा, उनको बाहन वीर र वेताल, अष्टमातृका गणहरु भद्रकाली, दुमाजु देवी, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरी तथा छुमा गणेशको पूजा गर्ने गरिन्छ । यी सबै देवीदेवता तान्त्रिक शक्तिको लागि पूजा गरिने देवीदेवता हुन् । पूजामा तान्त्रिक रुपमा पञ्चतत्व मिश्रित सम्हेयबजी चढाउने गरिन्छ र प्रसादको रुपमा खाने गरिन्छ ।
नेवा: हरु भैरवलाई योम्हसिद्ध (मनपर्ने सिद्ध देवता) अर्थात योसिंह द्य भन्ने गर्दछन् भने भैरवकै अर्को रुप भीमसेनलाई भीँद्य (असल देवता)को रुपमा पूज्ने गर्दछन् । तसर्थ नेवा: बाहुल्य हुने हरेक शहरमा भीमसेन तथा भैरवको मन्दिर हुने गर्दछ । अझ बढि भैरवलाई बिशेष रुपले आस्था भक्तपुरका नेवा:हरुले गरेको पाउँछौ ।
बिस्का:संगै नाग-नागिनीको कथा पनि गाँसिएको हामी पाउँछौ । लिच्छवी राजा शिवदेव दिवतियको समयमा किराँती आक्रमणबाट जोगाउन तान्त्रिक शेखर आचाजुले आफू बाघ भएर हजारौ अन्य बाघ पनि आफ्नै शक्तिले तैयार गरेर किराँतीहरुलाई भगाएका थिए । पछि राजाले धुमधामले सिन्दुर जात्रा गरेर घर पठाउँदा तान्त्रिक शेखर आचाजुका श्रीमती नररुपाले श्रीमानको यो शक्तिको कुरा सुनेपछि श्रीमान सामु आफूले कहिल्यै अजिंगर नदेखेको हुँदा अजिंगरको स्वरुप देखाउन अनुरोध गरे । आचाजुले मन्त्र फुकेको चामल श्रीमतीलाई दिएर भने शुरुमा चामल छर्केर अजिंगर बनाउने र पछि फेरी अर्को चामल छर्केर मानिसको स्वरुपमा फर्काउन अह्राए ।
नररुपाले शुरुको चामल छर्के जसले गर्दा श्रीमान भयंकर अजिंगर बने । तर अजिंगरको स्वरुप देखेर तर्सिएका श्रीमती भागे । श्रीमान, चामल नछर्किकन भागेका श्रीमतीको पछि पछि लागे । यसले गर्दा झन तर्सिएका श्रीमतीको हातको चामल आफ्नो शरिरमा पर्न गयो । जसले गर्दा श्रीमती पनि अजिंगर बने । यसरी दुबै श्रीमान श्रीमती अजिंगर बनेपछि राजा कहाँ पुगे । शायद राजाले थाहा पाएर मानिसको स्वरुपमा फर्कन मद्दत गर्ने आशामा रहेका आचाजु दम्पति राजाबाट पनि सहयोग नपाए पछि योसिंखेलको प्वालमा पसेर आत्महत्या गरे । यहि जोडी नागनागिनीको प्रतिक स्वरुप बिस्का: को रथमा लामो काठमा नागनागिनीको स्वरुपको रुपमा झुन्ड्याएर प्रदर्शन गर्ने जात्राको रुपमा बिस्का: चलेको भन्ने किंवदन्ती प्रख्यात छ ।
त्यस्तै अर्को किंवदन्ती अनुसार कुनै बेला राजाको छोरा नभए पछि राजकुमारीका लागि उपयुक्त राजकुमारसंग विवाह गराइ राजा बनाउन राजाले शहरबाट उपयुक्त राजकुमार खोजेर विवाह गराइदिए । तर विवाह भएर आएको पहिलो रात नै राजकुमारको मृत्यु हुने गर्दथ्यो । यसरी राजकुमारीसंग विवाह गर्न लालायित युवकहरु मृत्यु हुँदै जाँदा राजा पनि चिन्तित थिए । उता कुनै युवक पनि राजकुमारीसंग विवाह गर्न आएनन् । अन्तमा एक दिन शहर देखि बाहिर बस्ने एक युवकले साहस गरेर राजकुमारीसंग विवाह गर्न इच्छा ब्यक्त गरे । यो सुने पछि शहरकै बाहिर बस्ने एक बुढीआमाले युवकलाई राजकुमारीसंग विवाह गर्ने युवकको मृत्यु हुने कारण गोप्य रुपमा जानकारी दिँदै विवाह पछि रातमा राजकुमारीको शयनकक्षमा जाँदा तरवार लुकाएर लिएर जान तथा गहिरो निद्रामा नसुत्न लगाए ।
बृद्ध आमाले युवकलाई भने बमोजिम मध्य रातमा राजकुमारीको नाकबाट निस्किएको सानो किराले बिकराल नागको रुप लिएर युवकलाई डस्न लागे । चनाखो भएर युवकले लुकाएर राखेको तरवार निकालेर नागलाई काटे । बिहान राजदरवारमा राजा रानी एवं सबै युवक जिउँदो रहन्छ या रहन्न भन्ने चिन्तामा प्रतिक्षामा थिए । यसै समय ढोका खोलेर युवक जीवितै निस्किए पछि राजाले शहर भरि धुमधामले खुशियाली मनाउने घोषणा गरे । यसरी राजकुमारीको नाकबाट निस्केर विवाह गरेर आउने राजकुमारको हत्या गर्ने सर्प मारिएको खुशियालीमा मनाइएको जात्रा भएको हुँदा विइ अर्थात नाग वा सर्प तथा सिका अर्थात मरेको खुशियालीमा मनाइने जात्रा भएको हुँदा यसलाई विसिका भनिएको हो । तर पछि अप्रभंश हुँदै बिस्काः भन्ने गरियो । अझ नेपालीकरण हुँदा बिस्केट भन्न थालियो ।
आखिर जे जसरी यस जात्राको ब्याख्या गरिए पनि मातृसत्तात्मकको अन्त्य भइ पितृसत्तात्मकको शुरुवात भएको खुशियालीमा नै यो पर्व मनाइन थालेको भन्ने बुझ्दछौ । साथै यो पर्व मनाउने समय बाह्र राशीको समाप्ती पछि नयाँ युगको शुरुवातको खुशियालीमा पनि मनाएको देखिन्छ । लिच्छवीकालको सातौ शताव्दी तिरबाट यो जात्रा मनाउन थालिएको तथ्यलाई मान्न थाल्यौ भने पनि सो समयमा बैशाख जेठ नामक महिनाहरुको शुरुवात भएको थिएन । एक वर्षमा सूर्यले बाह्र राशी परिक्रमा गर्ने मान्यताको शुरुवात भइसकेको थियो । यसर्थ मेष देखी मीन सम्मको बाह्र राशीको परिक्रमा पछि पून मेष राशीमा अर्थात विषुवत् दिनमा प्रवेश गर्ने हुँदा यो जात्रा मनाउन थालिएको पाउँछौ ।
भैरवलाई बिशेष रुपले भक्तपुरवासीले मान्ने गर्दछन् । भक्तपुरबाट पोखरा आएका नेवा:हरुले पोखरामा पनि बिस्का: मनाउछन् । त्यस्तै तन्त्रशक्तिको आधारमा गरिने नाच भैरव नृत्य पोखरामा पनि नचाउने गरिन्छ । बाह्र वर्षको एक पटक (हाल ६ वर्षको एकपटक) भैरव नृत्य नचाउने गरेको हामी पाउँछौ । पोखरामा बाह्र भैरव नृत्य भनिए पनि यसमा बाह्र भैरव हुँदैन । यहाँ भैरवका गणहरुको नृत्य हुने गर्दछ । यसैले पहिले पहिले यस नृत्यलाई गँ प्याख (गण नाच) भनिन्थ्यो । तर अचेल समितिले नै बाह्र भैरव नृत्य भनिएको पाउँछौ । यस नृत्यमा भैरव नै नृत्यमा सहभागि हुँदैन तर उनका गणहरु अष्टमातृकाका साथ नाचेको पाउँछौ ।
शिवको परिवारको रुपमा सबैभन्दा अगाडि डाकिनीको रुपमा पार्वती बाटो देखाउन तथा ब्यबधानहरु पन्छाउँदै अगाडि बढ्दछ भने उनको पछाडि भैरवका दुइ सन्तान कवंचा र भुत्चा रहेको हुँछ । यस पछाडि अष्टमातृकाका रुपमा महाकाली, चामुण्डा, इन्द्रायणी तथा वाराही नाच्दछन् भने अन्यमा बैष्णवी, ब्रम्हायणी, कुमारी, तथा गंगाजु (महालक्ष्मी)ले नृत्य गर्दछन् । बैदिक पूजामा गणेश सबैभन्दा अगाडि पूजिने भए पनि तन्त्रशास्त्रका अनुसार मूलाधार चक्रको आधारमा रहेका गणेश सबैभन्दा पछाडि रहने गर्दछ । भक्तपुरको नवदुर्गा नाचसंग केही मिल्ने यो नाचमा नवदुर्गाको रुपमा नाचिने महाकाली, कुमारी, वाराही, ब्रम्हायणी, माहेश्वरी, वैष्णवी, इन्द्रायणी, महालक्ष्मी तथा त्रिपुरासुन्दरी गरेर नवदुर्गाको रुपमा लिइन्छ । यहाँ त्रिपुरासुन्दरी पनि बाहिर नाच्ने गर्दैनन् । त्रिपुरासुन्दरीको ख्वापालाई गँछेँ भित्र नै राखिन्छ । जसले गर्दा नृत्यमा सहभागी भने त्यहाँ पनि आठ देवी नै हुने गर्दछ ।
बिस्काको शुरुवात बिस्का शुरु हुनु भन्दा करिव १४-१५ दिन अगाडि तलेजुका पूजारीले शुभ दिन निकालेर भक्तपुर देखी पूर्व (सांगा देखी उत्तर)मा रहेको चित्तपोलको सल्लाघारी वनमा लिंगो खोज्नेबाट शुरु हुन्छ । बिशेष गरेर भक्तपुर गोलमढीका मानन्धरहरु पूजाआजा र बाजागाजा सहित लिंगोको लागी उपयुक्त सल्लाको रुख लिन जाने गर्दछन् । उपयुक्त रुख छाट्नको लागी वनमा पुगेपछि पूजा गरेर बोका छोडिन्छ । बोकाले सबैभन्दा पहिले छोएको रुखलाइ नै लिंगोको लागि उपयुक्त मानिन्छ । बोकाले छोएको रुखलाइ पूजा गरेर त्यहि बोकाको बलि दिएर बिधिपुर्वक पूजा गरिन्छ । त्यसपछि रुख काटेर ढालिन्छ । यसरी काटिएको रुखको सबै हाँगा काटिन्छ । रुखको टुप्पामा भएको हाँगा भने काटिदैन । यसलाई देवताको शिर मान्ने गरिन्छ । रुखको उचाइ कम्तिमा ५५ हातको हुनुपर्छ तर सकेसम्म सल्ला नै रोजिन्छ ।
यो जात्राको नाम बिस्केट जात्रा भनिए पनि वास्तवमा बिश्वध्वज जात्रा नै हो । यस ५५ हात लामो सल्लाको खाँबोमा जोडी ध्वजा सजाइएको हुन्छ । यो नै विश्वनाथको प्रतिक हो । तसर्थ यो जात्रा विश्वध्वज जात्रा हो भन्नेमा अत्युक्ति नहोला ।
बिस्केट जात्रा सामाजिक सद्भावको जात्रा पनि हो । बिभिन्न समाज एकसाथ मिलेर बिस्केट जात्रा मनाउने गर्दछ । चैत्र महिनाको शुरु तिर नासमना र तेखाचोका शिल्पकारहरु तथा दतात्रेयका मानन्धरहरुले भैरव र भद्रकालीको रथ बनाउन थाल्दछन् । रथमा मोटो मोटो बेतको डोरी बाँध्ने काम पनि मानन्धरहरुले नै गर्न थाल्दछन् । रथलाई रंगरोगन गरेर सजाउने काम चित्रकारहरुले गर्दछन् । ल्योसिंखेलका द्य:लाहरुले नायखिँ बजाउने तथा लिंगो ठड्याउन आबश्यक ब्यबस्था मिलाउने गर्दछन् ।
बिक्रम सम्वतको प्रचलन नहुँदा पनि सौर्यमानको कालगणना भने शुरु भइसकेको थियो । बाह्र महिनाको रुपमा बाह्र राशीको गणना गरिन्थ्यो । बि.सं. १९६१ सालमा श्री ३ चन्द्रशमशेरको शासनकालमा सौर्य वर्षमा परिवर्तन गरि पहिलो महिना मेष राशीमा सूर्य प्रवेश गर्दा बैशाखबाट गणना शुरु भएर मीन राशीमा प्रवेश गर्दा चैत महिनामा वर्षको अन्त हुने बनाइएको थियो । हरेक राशीमा सूर्यको प्रवेश हुने दिनलाई संक्रान्ती भनेर गणना गरिन्थ्यो । सदियौ देखि नक्षत्रको गणनाबाट सूर्यको परिक्रमा तथा वर्ष र महिनाको गणना गरिन्थ्यो । २७ नक्षत्रको एक महिनाको गणनाले गलत देखिए पछि सौर्यमानको गणनाबाट बाह्र राशीको बाह्र महिना गणना गर्न थालिएको थियो । बिक्रम सम्वतको गणना शुरु गरिए पछि भने बाह्र महिनाको नाम बैशाख जेठ असारको रुपमा गर्न थालियो ।
केवल नेपालमा मात्र होइन दक्षिण तथा दक्षिण पूर्वी अन्य एशियाली देशमा पनि यहि समय वरपर नयाँ वर्ष मनाउने गरिन्छ । भारत, बंगलादेश, श्रीलङ्का, लाओस, क्याम्बोडिया, बर्मा तथा थाइलैण्डमा पनि हाम्रो बैशाख १ गतेको एक दुइ दिन अगाडि पछाडि नयाँ वर्ष मनाउने गरिन्छ । भारतको पञ्जावमा बैशाखी, दक्षिण भारतमा मलयालम नयाँ वर्षका रुपमा केरलामा विशु पर्व मनाइन्छ । पश्चिम नेपालमा पनि बैशाख १ गते विशु पर्व मनाउने गरिन्छ । त्यस्तै तमिलनाडुमा पुथांडु, ओडिसामा पना संक्रांति, वंगालमा पोइला बोइसाख मनाइन्छ । लाओसमा पि माइका रुपमा मनाइन्छ । कम्बोडियामा मोहा संगक्रान भनेर मनाइन्छ । थाइलैण्डमा संगक्रानका रुपमा मनाइन्छ । म्यान्मारमा अता थिंग्यानका रुपमा मनाइन्छ ।
प्रतिक्रिया