शनिबार, वैशाख १३, २०८२

‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’

नेपालखोज २०८२ वैशाख ५ गते १८:३८

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारकै कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन भएको बताएका छन् ।

खेलकुद क्षेत्रसँग सम्बन्धित सङ्घ सँस्था र प्रशिक्षकहरूसँग आज भएको भेटघाटमा उनले प्रतियोगिता स्थगन हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारे । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना तय गरिएको थियो ।

प्रतियोगिता गर्ने भन्ने तर आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको उहाँको भनाइ छ । पछिल्लो समय प्रतियोगिताका लागि सुर्खेतमा सचिवालय स्थापना भए पनि देखिनेगरी काम नभएकामा मुख्यमन्त्री कँडेलले असन्तुष्टि जनाउँदै आएका थिए ।

खेलकुद प्रतियोगिता कर्णालीमा हुने भए पनि त्यसको मुख्य आयोजक सङ्घीय सरकार भएकाले पूर्वाधारमा प्रदेशलाई सहयोगको आग्रह गर्दासमेत सुनुवाइ नभएको मुख्यमन्त्री कँडेलको गुनासो छ । उनले भने, विगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधारमा करोडौँ खर्च गर्ने सङ्घीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा लगानी गर्नुपथ्र्यो, तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।

मुख्यमन्त्री कँडेलले प्रदेश रङ्गशालाको काम सकेर हन्तान्तरण भएको दिन भुक्तानीको समस्या नहुने बताए । उनले भने, निर्माण कम्पनीले कुनैबेला एक प्रतिशत काम बाँकी छ भन्ने कुनैबेला सम्पन्न भयो भन्ने गरेको छ, रङ्गशाला हस्तान्तरण भएको छैन । काम सम्पन्न भएर हस्तान्तरण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ । निर्माण व्यवसायीले काम भन्दा बढी बहानाबाजी गर्दै हिँडेको आरोप लगाए ।

रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तिबारे छलफल गरेर चाँडै टुङ्गोमा पुग्ने तयारी भएको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।

प्रतिक्रिया