शनिबार, वैशाख १३, २०८२

दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम बन्याे बेवारिसे

नेपालखोज २०८२ वैशाख ८ गते ८:११

ढोरपाटन । बागलुङ नगरपालिका–४ नियरघाटमा निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । दुई वर्ष अगाडि परिवारबाट अपहेलित भएका वृद्धवृद्धालाई राख्नका लागि निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन नसकेको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भवन सञ्चालन नहुँदा वरपर झाडी पलाएर ढाकिएर बेवारिसेजस्तै बनेको छ ।

आश्रम निर्माणका लागि निर्माण कम्पनीले विसं २०७९ पुस ८ गते सम्झौता गरी काम सुरु गरेको थियो । निर्माण कम्पनीले विसं २०८० असार २५ गते काम सम्पन्न गरेको थियो । नगरपालिकाको रु दुई करोड २६ लाख ५४९ मा निर्माण भएको सुविधायुक्त आश्रम बनेको हो । भवन एक तलाको भए पनि सुविधायुक्त रहेको छ ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले परिवारबाट तिरस्कारमा परेका वृद्धवृद्धाको संरक्षणका लागि वृद्धाश्रम निर्माणको भन्दै अहिलेसम्म कोही पनि वृद्धवृद्धा आश्रय लिन नआउँदा सञ्चालनमा नभएको बताउनुभयो । करोडौँ खर्चिएर बनाएको संरचनालाई प्रयोग नगरी छोड्नुभन्दा केही समयका लागि मानवसेवा आश्रमलाई सञ्चालन गर्न दिने कार्यपालिकाले निर्णय गरेको उहाँको भनाइ छ ।

वृद्धआश्रम नजिकै मानव सेवा आश्रमको भवन निर्माणाधीन छ । उक्त भवन नबन्दासम्म वृद्धआश्रम प्रयोग गर्न दिने उनी बताउँछन् । झाडीले ढाकिएको भवनलाई नगरपालिकाले केही समयमै व्यवस्थित बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । उक्त भवनको संरक्षणका लागि घेराबार गर्ने, फोहर व्यवस्थापन लगायतका काम गर्ने उहाँले बताउनुभयो । यदि कोही वृद्धवृद्धा आश्रय लिन आए राम्रो सुविधा दिएर राख्ने श्रेष्ठले बताए ।

निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा आश्रम निर्माण भएको छ । भवनमा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सासहित भवनमा २० कोठा रहेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । भवनमा वृद्धवृद्धाका लागि शौचालय, स्नानगृह रहेको उनको भनाइ छ ।

बागलुङ नगरपालिका–१ का स्थानीय बालकृष्ण आचार्यले वृद्धआश्रम सञ्चालन नहुँदा राम्रो ठूलो रकम नोक्सान भइरहेको बताए । निर्माण सम्पन्न भएको दुई वर्षसम्म सञ्चालन नहुनु दुःखद् विषय भएको भन्दै नगरपालिकाले कुनै प्रयोजनका लागि भए पनि प्रयोग गर्नु पर्ने सुनाए । नयाँ भवन प्रयोग नहुँदै झ्यालढोका टुट्न फुट्न लागेको उनको भनाइ छ । रासस

प्रतिक्रिया