वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका–१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका–३२ बस्ने नुवाकोट विदुर नगरपालिका–५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका–६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।
पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रूपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उरूषालाई काठमाडौं महानगरपालिका–३१ बाट शनिबार, केदारलाई काठमाडौं महानगरपालिका–३२ बाट शुक्रबार र पोषणराजलाई दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट नौं जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–१५ त्रिशुलमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९ ट्याब्लेट र स्पास्पेन ३ सय ९ ट्याब्लेट सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीया रेसु राई र २९ वर्षीय सन्तोष साह रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले को. २० प ३६८३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ एयरपोर्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उत्तम पाण्डे समेत ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१३ बस्ने २ जना किशोरहरूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बा. ६४ प ९३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–१० अरुणखोला जंगलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनारागन १ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका–२९ बस्ने २३ वर्षीय कमल घिमिरेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना.७ ख ३५२६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–३ खजहना बस्ने ५० वर्षीय दिपक कुमार क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा आठ जनाको मृत्यु
कालिकोटको पलाता गाउँपालिका–२ लार्फा ठाटी डाँडास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर गएराति दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक मुगु खत्याड गाउँपालिका–५ कवा बस्ने २५ वर्षीय चन्द्र प्रकाश रोकाया तथा ट्याक्टरमा सवार कालिकोट पतला गाउँपालिका–४ बस्ने २१ वर्षीय रविन्द्र वि.क, ३२ वर्षीया सदु बुढा र २६ वर्षीया अम्बा शाही रहेका छन् ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–३ नयाँ गाउँस्थित सडकमा बा. १८ च ९९५९ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ५८ वर्षीय गोठे कामीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले हाल फरार स्कारपियो चालकको खोजी गरिरहेको छ ।
पाल्पाको बग्नासकाली गाउँपालिका–४ मलेङस्थित सडकमा लु. १ ज १७२४ नम्बरको जिप आइतबार बेलुकी दुर्घटना हुँदा जिपमा सवार स्याङ्जा कालिगण्डकी गाउँपालिका–१ बस्ने १८ वर्षीया एलीसा सारूको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ५ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित सडकबाट बा.प्र.०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल त्रिशुली नदीमा खसेर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली तीनपाटन गाउँपालिका–९ बस्ने २६ वर्षीय मिन बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका–२ पाण्डेपुरस्थित सडकमा ग. ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार जिराभवानी गाउँपालिका–२ बस्ने ३० वर्षीय बिहारी रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि एल.एस.न्यूरो अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया