गोरखाको विकास र गार्खालीको सुखदुःखमा समर्पित हुनेछु : अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र गार्खाली जनताको सुखदुःखमा सदैव समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा आज आयोजित ‘भूकम्प स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाको विकास निर्माणको कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयत्न भइरहेको बताए ।
गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहेका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले काठमाडौंमा रहेपनि गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धताहरु नबिर्सिएको र यस क्षेत्रको जनप्रतिनिधिका हैसियतले गोर्खाली जनताको समस्यालाई नजिकबाट नियाली सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
तपाईंहरूसँग गरिएका प्रतिबद्धताअनुसारका सबै काम गर्न सकिएन-पाइएन भन्ने अनुभूति मलाई पनि भइरहेको छ,उनले भने, अझै दुई साढे दुई वर्ष बाँकी छ, अबको बाँकी समय गोरखाको विकास निर्माणसहित गोर्खाली जनताको काममा अझ बढी समय दिई खट्ने छु । तर, केही पनि भएन, गरिएन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ, त्यो होइन, यहाँको विकास निर्माणका कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयास गरिरहेको छु ।
अध्यक्ष दाहालले भूकम्पको केन्द्रविन्दु बारपाकमा रु २८ करोडको लगानीसहित ढल निकास परियोजना सुरु भएको र १० करोड रुपैँयाको लगानीमा बृहत् खानेपानीको स्रोत सुनिश्चित भइसकेकाले बारपाकको विकास अघि बढेको स्पष्ट गरे ।
प्रतिक्रिया