ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन समिति गठन

नेपालखोज २०८२ वैशाख १२ गते २०:०१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न ऊर्जामन्त्री खड्काको निर्देशनमा मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहेका छन् ।

घटनापछि गम्भीर चासो व्यक्त राख्दै मन्त्री खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए । समितिलाई दुर्घटना कसरी ? किन ? र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्नका साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाव स्वरूप पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया