शनिबार, वैशाख १३, २०८२

ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी

नेपालखोज २०८२ वैशाख १३ गते १४:०२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएको छ ।

गत अप्रिल २२ मा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चिनियाँ नेतासँगको कुराकानी कहिले भएको थियो वा के छलफल भएको थियो भन्नेबारे नबताइकन व्यापार वार्ता भएको दावी गरेका थिए ।

चीनको वाणिज्य मन्त्रालयले बेइजिङ र वासिङ्टनबीच आर्थिक वा व्यापारिक वार्ता भइरहेको भन्ने कुरा बिहीबार नै अस्वीकार गरिसकेको छ ।

चिनियाँ सामाजिक सञ्जाल विच्याटमा शनिबार पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ, “चीन र संयुक्त राज्य अमेरिकाबीच कर वृद्धिका विषयमा कुनै परामर्श वा वार्ता भएको छैन, कुनै सम्झौताको त कुरै छाडौँ ।”

वक्तव्यमा ट्रम्प वा सीको नाम उल्लेख गरिएको छैन वा ट्रम्पको फोन वार्ताको दाबीलाई प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन तर संयुक्त राज्य अमेरिकाको कर वृद्धिबारे वार्ता जारी छ भन्ने टिप्पणी ‘भ्रामक बाहेक अरू केही होइन’ भनिएको छ ।

ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीचे व्यापार युद्ध सुरु भएको छ । अमेरिकी कर वृद्धिको घोषणासँगै अमेरिका आयात हुने धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको छ । चीनले पनि अमेरिकाविरूद्ध प्रतिशोधात्मक कर वृद्धिको घोषणा गरेको छ ।

ट्रम्पले आगामी केही हप्तामा अमेरिकी व्यापारिक साझेदारसँग सम्झौताको घोषणा गर्ने बताए ।

प्रतिक्रिया