शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा शिक्षकसँग भएका सम्झौता कार्यान्वयनका निम्ति सक्दो प्रयास गरेको उल्लेख गरे ।
उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताए ।
उनले पछिल्लो पटक आफू प्रधामन्त्री हुँदा गर्न सुशासन, सामाजिक न्याय, अन्तरराष्ट्रिय सम्बन्ध सुदृढीकरण र छिमेकीसँग नेपालको हित अनुकुल सहमति र सम्झौता गर्न लिइएका पहलको परिणामस्वरुप जनतामा माओवादीप्रतिको आशा र भरोसा जागेको दाबी गरे ।
आफ्नो पार्टीले सुरु गरेको हुलाकीमार्ग केन्द्रित अभियानले पनि माओवादी पार्टीप्रतिको आकर्षण बढ्दै गएको अध्यक्ष दाहालको भनाइ छ । उनले उक्त अभियानलाई भोलिदेखि पुनः सुरु गरी कञ्चनपुसम्म पुर्याउने समेत उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री दाहालले आफ्नो पार्टीले सहिद, वेपत्ता परिवार, अपाङ्गता भएका व्यक्तिको पक्षमा केही काम गरेको भए पनि केही बाँकी रहेको बताए ।
पछिल्लो पटक आफ्नो पार्टीले झापादेखि कपिलवस्तुसम्म आइपुग्दा लाखौँ जनतासँग संवाद गरेको पनि उनले बताए ।
प्रतिक्रिया