नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री डा राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् ।
भारत, काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज यहाँ आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरिन् ।
आतङ्कवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उनले नेपाल आफ्नो भूमि कुनै पनि आतङ्कवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट गरिन् । यसैले काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री डा राणाले बताइन् ।
उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतङ्कवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको बताइन् । नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री डा राणाले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि हो भनिन् ।
मन्त्री डा रााणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन् ।
प्रतिक्रिया