इरान–अमेरिका वार्ता नयाँ चरणमाः विशेषज्ञहरु मार्फत समाधानको खोजी

मस्कट, ओमान । इरान र संयुक्त राज्य अमेरिकाबीच शनिबार ओमानको राजधानी मस्कटमा इरानको तीव्र रूपमा अगाडि बढिरहेको आणविक कार्यक्रमबारे गहन वार्ता सुरु भएको छ ।
यी वार्ताहरू मुख्यतः तेहरानद्वारा युरेनियम प्रशोधनको स्तरमा केन्द्रित हुने विश्वास गरिएको छ । इरानी सरकारी टेलिभिजनले वार्ता मस्कटमा सुरु भएको पुष्टि गरेको छ । अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकोफसँग निकट स्रोतले पनि गोपनीयताका सर्तमा वार्ता प्रारम्भ भएको जानकारी दिएका छन् ।
हाल वार्ताको नेतृत्व गरिरहेका इरानी विदेश मन्त्री अब्बास अराघची र अमेरिकी दूत श्री स्टिभ विटकोफले वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । अराघची शुक्रबार ओमान पुगेर त्यहाँका विदेश मन्त्री बद्र अल–बुसैदीसँग शिष्टाचार भेट गरेका थिए । उनले मस्कट अन्तर्राष्ट्रिय पुस्तक मेलाको पनि अवलोकन गरेका थिए । शनिबार बिहानको भिडियो फुटेजमा उनी वार्ता स्थलतर्फ प्रस्थान गरिरहेको देखिएको थियो ।
विटकोफ शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट सकेर शनिबार ओमान आइपुगेका थिए । यत्तिकैमा, शनिबार वार्ता सुरु भएलगत्तै इरानको दक्षिणी भागमा रहेको एक प्रमुख बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा ५१६ जना घाइते भएका छन् । अधिकारीहरूले प्रारम्भिक रूपमा विस्फोटको कारण खुलाउन नसके पनि यो तेल वा ग्यास उद्योगसँग सम्बन्धित नरहेको बताएका छन् ।
प्रतिक्रिया