आइतबार, वैशाख १४, २०८२

बूढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु

नेपालखोज २०८२ वैशाख १३ गते २०:५८

सङ्गुरीगढी (धनकुटा ) । धनाकुटास्थित बूढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण सुरु भएको छ ।

आज एक कार्यक्रमबीच खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको शिलान्यास गर्दै सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने यो आयोजना महत्वपूर्ण हुने बताए । तीनै तहका सरकारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गर्ने गरी काम अगाडि बढाइएको उनले जानकारी दिए ।

उनले भने, सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो । यसलाई पूरा गर्न देशभरिका दुर्गम, ग्रामीण तथा पिछडिएका क्षेत्रहरूमा गुणस्तरीय खानेपानी पहुँच पुर्याउने लक्ष्यमा हामी अग्रसर छौँ । यो आयोजना त्यही लक्ष्यतर्फको ठोस पाइला हो । मन्त्री यादवले आयोजनालाई निर्धारित समयमै गुणस्तरीय र पारदर्शिताका साथ सम्पन्न गरिने बताए ।

मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले नेपाली नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुसार बूढीमोरङजस्ता परियोजनाहरू कार्यान्वयन भइरहेको बताए । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले यहाँ खानेपानी आयोजनाको सुरुआत साङ्गुरीगढीवासीको स्वास्थ्य, सम्मान र समृद्ध जीवनशैलीको यात्रामा एउटा महत्वपूर्ण पाइला भएको बताए । उनले आयोजनाबाट यहाँका ४६४ परिवार र दुई हजार २१३ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने बताए ।

उक्त आयोजनाको मुख्य स्रोत काम्फुवा खोलाबाट प्रतिसेकेन्ड २२ लिटर पानी लिफ्टिङ प्रविधिबाट आउने जनाइएको छ । आयोजना निर्माणका लागि चार करोड ४९ लाख ९९ हजार नौँ सय ४१ मा ठेक्का सम्झौता भएको छ । यसमा ९० प्रतिशत सरकार र १० प्रतिशत रकम समुदायको योगदान रहनेछ । आयोजनामा पम्प हाउस, ब्रेक प्रेसर ट्याङ्की, इलेक्ट्रिकल ट्रान्समिसन लाइन, भल्भ चेम्बरलगायत अत्यावश्यक पूर्वाधार संरचनाहरू हुनेछन् ।

प्रतिक्रिया