आइतबार, वैशाख १४, २०८२

मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर

नेपालखोज २०८२ वैशाख १४ गते ६:१७

मुस्ताङ । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरु किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ ।

जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् । घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको बताएका छन् ।

घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जिआइजेट नामक सङ्ख्याले स्थानीय तहको पञ्चवर्षीय ऊर्जासम्बन्धी आधारभूत सर्वेक्षण गरिरहेको छ । उक्त सर्वेक्षणका क्रममा भएको छलफल तथा अन्तरक्रियामा जोमसोमका स्थानीयवासीले जलवायु सङ्कटले हिमाली जिल्ला मुस्ताङको खानेपानी, कृषि र पशुपालनलगायत जैविक विविधतामा असर पुर्याउँदै गइरहेको औँल्याएका हुन् ।

घरपझोङस्थित जोमसोमबजारमा हिमस्रोत घट्दै जाँदा खानेपानीको चरम समस्या देखिएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दीपक शेरचनले बताए । जोमसोममा विगतको तुलनामा घरधुरीको सङ्ख्या वृद्धि हुँदै गइरहेको, व्यावसायिक क्षेत्र परेको र सरकारी कार्यालयसमेत रहेकाले यहाँ खानेपानी उपयोग अत्यधिक हुने भए पनि पछिल्लो समय मुहान सुक्दै जाँदा आवश्यकताअनुसार खानेपानीको सेवा पुर्याउन नसक्ने अवस्था रहेको अध्यक्ष शेरचनले सुनाए । मुस्ताङको बजारको खानेपानी उपभोक्ताको माग धान्न मुस्किल परेकाले वैकल्पिक उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।

जोमसोम बजारका लागि खानेपानी आपूर्तिका लागि तीनवटा हिमस्रोत रहेको भए पनि जलवायु सङ्कटका कारण मौसमी तापक्रमको असरले उल्लिखित खानेपानीको स्रोत घट्दै गइरहेको अध्यक्ष शेरचनले बताए । जोमसोम बजारका लागि खानेपानी सेवा पुर्याउन जोमसोमको कुङ्ले लेंक र ठिनी १-२ को पानीको मुहान सुरक्षित रहे पनि ती स्रोतहरु हिमस्रोत सुक्दै जाँदा खानेपानीको अभाव भएको छ ।

व्यावसायिक क्षेत्र भएकाले खानेपानीको माग बढी छ, उनले भने, पानीको स्रोत घट्दो छ, यसैले अन्य ऊर्जा सम्भावना खोजेर दीर्घकालीन समस्या खोज्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया