सोमबार, वैशाख १५, २०८२

स्ट्यान्डर्ड चार्टर्डकाे पहिलो क्षेत्रीय ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’मा १५ देशको सहभागिता

नेपालखोज २०८२ वैशाख १४ गते १९:४५

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक (एससीबी) नेपालले पहिलोपटक नेपालमा ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालनलाई सुदृढ बनाउने, अनुपालन मापदण्ड सुधार गर्ने र विश्वव्यापी उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले बिहीबार र शुक्रबार काठमाडौँमा दुईदिने कार्यशाला आयोजना गरेको हो ।

कार्यशालाको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले गरेका थिए। उद्घाटन कार्यक्रममा उनले यस्ता कार्यक्रम नेपालमा सञ्चालन गर्नुको आवश्यकता औल्याउँदै स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहलको प्रशंसा गरे । साथै उनले वित्तीय अपराध नियन्त्रणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यशालामा एसियान र दक्षिण एसियाका १५ देशका १३० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीमध्ये केन्द्रीय बैंक, नियामक निकाय र बैंकिङ क्षेत्रका प्रमुख व्यक्तित्वहरू थिए ।

दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा बैंकिङ र डिजिटल क्षमताको प्रगति, जोखिम व्यवस्थापन, एन्टी–मनी लन्डरिङ तथा आतंकवादी वित्तीयकरणविरुद्धका उपाय, सीमापार कारोबारका चुनौती, वित्तीय सन्देश प्रणालीमा नवप्रवर्तन र विदेशी विनिमयसम्बन्धी विषयमा व्यापक छलफल भएको थियो ।

कार्यशालामा चानी सिओङ, क्रिस फ्लेमिङ, सेर्हाने भिक्टर र जयेश कदमलगायत क्षेत्रीय विशेषज्ञहरूले प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया