मंगलबार, वैशाख १६, २०८२

शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

नेपालखोज २०८२ वैशाख १६ गते १२:४०

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो समाधान निकाल्नुपर्ने बताए । उनले सार्वजनिकस्थल, व्यापारिक केन्द्रलगायत ठाउँमा आगलागीका घटनाको जोखिम व्यवस्थापन गर्न दमकलको व्यवस्था गर्न आग्रह गरे ।

सांसद भानुभक्त जोशीले पनि आन्दोलनरत शिक्षकको मागतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउँदै उनीहरुलाई चाँडो विद्यालय फर्काउन सरकारले पहल गर्नुपर्ने बताए । सांसद मनबहादुर गुरुङले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद मनिष झाले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे । सांसद महेन्द्रबहादुर शाहीले आन्दोलनरत सबै पक्षका माग समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद महेशकुमार बर्तौलाले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको निजगढ ‘फास्ट ट्र्याक’ समयमै निर्माण गर्नुपर्ने बताए ।

उक्त सडकखण्ड झण्डै ५३ किलोमिटर मकवानपुरमा पर्ने भएकाले सिस्नेरी दोभानबाट पहुँच विन्दु फास्ट ट्र्याकसँग जोड्न सके ललितपुर, मकवानपुर, धादिङ र चितवनलाई लाभ मिल्ने सुझाव दिए ।

प्रतिक्रिया