मंगलबार, वैशाख १६, २०८२

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८२ वैशाख १६ गते १७:२९

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट नौं जना पक्राउ

सुनसरीको बर्जु गाउँपालिका–३ नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ९९ किलो ३ सय ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका–९ बस्ने ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरीले भीमपुरबाट अमडुवातर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाडीको ढालामा लुकाई छिपाई ल्याएको ६ वटा बोरा भित्र उक्त परिमाणको गाँजा फेला पारी चालक उद्धव र सहचालक कबिराजलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सुकुम्बासी टोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ किलो ८ सय ६० ग्राम सहित बारा निजगढ नगरपालिका–१२ बस्ने ५७ वर्षीय ठाकुर सिंह मोक्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्राम सहित सोही महानगरपालिका–१२ बस्ने ४७ वर्षीय अनिश क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना बजार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ५ सय ग्राम सहित नलगाड नगरपालिका–३ बस्ने ५३ वर्षीय बिष्णु बहादुर घर्तीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले बारेकोटबाट नेपालगंजतर्फ जाँदै गरेको लु.१ ज ३९२६ नम्बरको बोलेरोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका २४ वर्षीय सन्त बहादुर लामा र २२ वर्षीय मिलन परियार रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ९८४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहाको लहान नगरपालिका–३ बस्ने २६ वर्षीय सुरज महतोलाई नियन्त्रित लागूऔषध डाईजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल, प्रोमेथाजाइन १५ एम्पुल, स्यामपेक्स ८ क्याप्सुल र नाइट्राजेपाम २० ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया