मंगलबार, वैशाख १६, २०८२

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८२ वैशाख १६ गते १८:०३

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा, गोरखा नगरपालिका–४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् ।

जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमती जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट र जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका–२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–५ घर भएका ४१ वर्षीय दिनेश गौतमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन १ गते ठगी मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

मध्यपुर थिमी नगरपालिका–४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत नौं जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख २३ हजार ७ सय ५० रूपैयाँ र छ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ९ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया