उपराष्ट्रपति र राजदूत लोरेन्जाको भेटमा विविध आयामबारे संवाद

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन् । काठमाडौं लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घ (इयु)बीच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए । ‘नेपाल र इयुबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास लिएको छु”, उहाँले भने, ‘इयु नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ ।’
स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली सङ्घ समर्थित कार्यक्रमको उपयोगिताको उच्च प्रशंसा गर्दै उनले कर्णाली प्रदेशमा इयुको सहयोगअन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पु¥याएको बताए ।
‘सगरमाथा संवाद’ को महत्त्वबारे चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको संवाद मञ्चको आगामी संस्करणको आयोजना मे १६–१८, २०२५ मा काठमाडौँमा हुने जानकारी गराए ।
नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको उल्लेख गरे । ‘युरोपेली सङ्घ वातावरण र जलवायु परिवर्तनमा लगानी गर्न चाहन्छ’, उनले भने । राजदूत लोरेन्जोले दूधकोशी हाइड्रोपावरमा इयु लगानी गर्न इच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेस प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेस प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताए । रासस
प्रतिक्रिया