सक्षम र प्रदीप क्वाटरफाइनलमा
काठमाडौं । सक्षमविक्रम शाह र प्रदीप खड्का ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिङ्गल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा आज सक्षमले अभिनय अछामीलाई ६–० र ६–० तथा प्रदीपले सोमज श्रेष्ठलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।
पुरुष सिङ्गल्समै राजवीर प्रधानले निश्चल कायस्थलाई ६–० र ६–२, आरभसम्राट हाडाले सन्देश अधिकारीलाई ६–० र ६–०, प्रणव खनालले दर्शिल श्रेष्ठलाई ७–५ र ६–३, निसान श्रेष्ठले सर्वेश खनाललाई ६–० र ६–०, निहालजङ्गबहादुर थापाले बोरिस अधिकारीलाई ४–६, ६–१ र ६–२ तथा प्रीतम परियारले दावा सोनाम शेर्पालाई ६–३ र ६–४ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
मिक्स डबल्समा अभिलाषा विष्ट र आरभसम्राट हाडाको जोडीले इन्द्रकला श्रेष्ठ र हरसिंह धामीको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीले रोहित सुनुवार र इब्राहिम मुस्लिमको जोडीलाई ७–५ र ६–२ तथा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडीले मानबहादुर कटुवाल र हिमाल शाहको जोडीलाई ६–१ र ६–४ ले हराउँदै उपाधि भीडन्त पक्का गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिङ्गल्समा जीतेन्द्र परियार, साम्डुप लामा, गगन महर्जन, सिमान्त गुरुङ, भीष्मजङ्ग गुरुङ, समिर गुरुङ, सोवित गौचन र सन्तोष खत्री आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगे । यस्तै, ६५ वर्षमाथि पुरुष सिङ्गल्समा वाल्टर स्मित, नाम्लाङ तेन्जिन, विदुर विष्ट र ध्रुवबहादुर गुरुङले सेमिफाइनल यात्रा तय गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्समा कमलबहादुर भण्डारी, देव क्षेत्री, म्याट ब्रोससार्ड, महेश श्रेष्ठ, छेवाङ लामा, मानबहादुर कटुवाल, मेगेन्द्रप्रकाश गिरी र रोहित सुनुवारले क्वाटरफाइनलमा स्थान पक्का गरे । यसैगरी ५५ वर्षमाथि पुरुष सिंगल्समा प्रदिप शाह, राजु राई र चन्द्र शाहीले क्वाटरफाइनलमा स्थान बनाए ।
प्रतिक्रिया