कोलकाताको एक होटेलमा आगलागी : दुई बालबालिका र एक महिलासहित मृतकको संख्या १५ पुग्याे

नेपालखोज २०८२ वैशाख १७ गते १३:१३

कोलकाता । भारतको कोलकाता सहरको एक होटेलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटेलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए ।

होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले बताए । ‘दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ’, आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै वर्माले भने, ‘होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।’

आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भीडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ । करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन् ।

भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् । गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटलमा आगलागी हुँदा छजनाको मृत्यु भएको थियो ।रासस/एएफपी

प्रतिक्रिया