अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने इरानको घोषणा

तेहरान । इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताएका छन् । लामो समयदेखिका प्रतिद्वन्द्वीहरूले कार्यक्रमको विषयमा सम्झौताको लक्ष्य राखेर तीन चरणको वार्ता गरिसकेका छन् ।
पश्चिमी देशहरूका अनुसार इरानको युरेनियम संवर्धन आणविक हतियार विकास गर्ने उद्देश्यले बनाइएको हो । तेहरानले उक्त आरोपलाई अस्वीकार गर्दछ । ओमानको मध्यस्थतामा अप्रिल १२ मा सुरु भएको वार्ता दुई पक्षबीच वर्षौंदेखिको उच्च स्तरको सम्पर्क हो ।
ट्रम्पले मार्चमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई एउटा पत्र पठाएर इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै वार्ता गर्न आग्रह गरेका थिए । जनवरीमा कार्यालयमा फर्केपछि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जस्तै ‘अधिकतम दबाब’ प्रतिबन्ध अभियानलाई पुनर्जीवित गरेका छन् ।
तेहरानले जारी वार्तामा आणविक मुद्दा र प्रतिबन्ध हटाउने कुरामा मात्र ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएको छ ।
शनिबार ओमानको राजधानी मस्कटमा भएको अन्तिम चरणमा दुवै पक्षले प्रगति भएको बताएका थिए । रासस\एएफपी







प्रतिक्रिया