बङ्गलादेशः धर्मगुरू कृष्ण दासलाई जमानत आदेश

ढाका । बङ्गलादेशको उच्च अदालतले आध्यात्मिक गुरु चिन्मय कृष्ण दासलाई देश द्रोहको मुद्दामा बुधबार जमानत दिएको छ। न्यायाधीश मोहम्मद अतोर रहमान र न्यायाधीश मोहम्मद अली रेजाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।
बङ्गलादेश सम्मिलित सनातनी जागरण जोतेका प्रवक्ता तथा इस्कोनका पूर्व नेता चिन्मय कृष्ण दासलाई गत वर्ष नोभेम्बर २५ मा ढाका विमानस्थलबाट पक्राउ गरिएको थियो ।
उनीमाथि बङ्गलादेशको राष्ट्रिय झण्डाको अपमान गरेको आरोप लागेको छ र उहाँमाथि देशद्रोहको आरोप लगाइएको छ । गत जनवरी २ मा चटगाँउको तल्लो अदालतले उनको याचिका खारेज गरेपछि उहाँले उच्च अदालतमा जमानतका लागि निवेदन दिएका थिए ।
गत फेब्रुअरीमा बङ्गलादेशको उच्च अदालतले दासलाई किन जमानत नदिने भनेर सरकारलाई स्पष्टीकरण सोधेको थियो। दासका वकिल अपूर्वकुमार भट्टाचार्यले एएनआईसँगको कुराकानीमा भनेका छन्, बङ्गलादेश उच्च अदालतले सरकारलाई दुई हप्ताभित्र जवाफ दिन भनेको छ ।
जनवरी २ मा चटगाँउमा भएको सुनुवाइका क्रममा दासको प्रतिरक्षा टोलीले उहाँ मातृभूमिप्रति गहिरो सम्मान राख्ने र आफ्नी आमाप्रतिको श्रद्धासँग तुलना गर्ने र देशद्रोही नभएको तर्क गरेका थिए तर यी तर्कहरूको बावजुद अदालतले जमानत याचिका अस्वीकार गरेको थियो ।
भट्टाचार्यले भने, धर्मगुरू कृष्णदासले मातृभूमिलाई आफ्नी आमासरह सम्मान गरे । उनी देशद्रोही होइन भनेर हामीले अदालतसमक्ष उल्लेख गरेका थियौँ । यसपहिले, महानगरीय सत्रका न्यायाधीश मोहम्मद सैफुल इस्लामको नेतृत्वमा रहेको अदालतले दुवै पक्षको बहसपछि जमानत नदिने फैसला सुनाएको थियो । न्यायाधीश सैफुल इस्लामको नेतृत्वमा रहेको चटगाउँको अदालतले दुवै पक्षको बहस सुनेपछि जमानत अस्वीकार गरेको थियो ।
कडा सुरक्षाका बीच उनको मुद्दामाथि सुनुवाइ भएको थियो । मुद्दामा महानगरीय सरकारी वकील मोफिजुर हक भुइयाँंले अभियोजन पक्षको प्रतिनिधित्व गरेका थिए । यो मुद्दाले सर्वसाधारणको व्यापक ध्यान आकर्षित गरेको छ, धेरैले बङ्गलादेश उच्च न्यायालयको घटनाक्रमलाई नजिकबाट नियालेका छन्।
प्रतिक्रिया