दुई पालिका जोड्ने सेती नदीमा पक्की पुल निर्माण हुँदै

तनहुँ । जिल्लाको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि मोटर गुड्ने पुल निर्माणको काम धमाधम भइरहेको छ । व्यासको वडा नम्बर–३ को देउराली नगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने पुलको निर्माण कार्यले गति लिएको हो ।
निर्माण कम्पनीको ढिलासुस्तीले केही समय पुल निर्माणकार्य रोकिएकोमा हाल भने धमाधम काम भइरहेको छ । पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इञ्जीनीयर रवीन्द्र तिवारीले जानकारी दिए । पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले हाल तीव्र रूपमा काम गर्न थालेको हो, उनले भने पुलको स्टील पाटर्सको निर्माण हुने भएकाले फेब्रिकेसन कार्य भइसकेको छ ।
दुई ‘स्पाम’ मध्ये चालु आर्थिक वर्षमा एक ‘स्पाम’ निर्माणकार्य पूरा हुनेगरी काम गरिरहेको छ, भने बाँकी अर्को एक ‘स्पाम’ निर्माणको लागि निर्माण कम्पनीले भारतबाट समान ल्याइसकेको उनले बताए । गण्डकी प्रदेश सरकारको रू ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण भइरहेको तिवारीले जानकारी दिए । कार्यालयका अनुसार पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौंग सम्झौता भएको थियो । एक सय ५५ मिटर लामो रहने पुलको चौडाइ ९ दशमलव ५० मिटर रहनेछ ।
पाइल फाउण्डेशनमा निर्माण हुने पुल ‘स्टील ट्रस’ को हुनेछ । उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्यादसहित विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरिएको थियो । सम्झौता अनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेको हुने थियो । सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
उक्त पुलको हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको कार्यालयले जनाएको छ । पुल निर्माणपछि व्यास नगरपालिका ऋषिङ गाउँँ पालिकाका जनतालाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङे पुलबाट मानिस र मोटरसाइकल आवतजावत गर्छन् । त्यसको करिब एक किलोमिटरमाथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ ।

प्रतिक्रिया