नीति तथा कार्यक्रम र बजेटबारे एमालेबाट निर्वाचित जनप्रनिनिधिलाई दिशानिर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घ, प्रदेश र स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट निर्माणमा ध्यान पुर्याउनुपर्ने विषयमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई दिशानिर्देश गरेको छ ।
एमालेका महासचिव शङ्कर पोखरेलले आज ललितपुर च्यासलस्थित पार्टी मुख्यालयबाट ‘भर्चुअल’ सम्बोधन गर्दै नीति तथा कार्यक्रम र बजेट निर्माणमा ध्यान पुर्याउन जनप्रतिनिधिलाई दिशानिर्देश गरे ।
आज पहिलो चरणमा कोशी र मधेश प्रदेशका पार्टी नेतृत्व र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई भर्चुअल सम्बोधन गर्दै उनले आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नुपर्ने महत्वपूर्ण विषयहरूबारे ध्यान दिन आग्रह गरे ।
महासचिव पोखरेलले बजेट तर्जुमा गर्दा सामाजिक विकास, उद्यमशीलता, रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायत आमजनता प्रत्यक्ष लाभान्वित हुने जनसरोकारका विषयलाई प्राथमिकतामा राख्न सुझाए । उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएयता तीनवटा बजेट आइसकेकाले जनप्रतिनिधिले आफ्नो कार्यकालको समीक्षासमेत गर्नुपर्ने बेला भएका बताए ।
उनले स्थानीय तहको बजेट बनाउँदा शिक्षा र स्वास्थ्य सुधारका योजना बनाउन, खासगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय शिक्षा व्यवस्थापनको पक्षमा ध्यान दिन निर्देश गरे । महासचिव पोखरेलले केन्द्र सरकारले आगामी दुई वर्षमा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्यका साथ आआगयोग गठन गरी काम थालेको हुँदा स्थानीय तहले भूमि समस्या समाधानका लागि व्यवस्थित अभिलेख तयार गर्न र आयोगसँग सहकार्य गरी कामलाई प्रभावकारी रूपमा सम्पन्न गर्न अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।
भर्चुअल बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, नेकपा (एमाले) मधेश प्रदेशका अध्यक्ष चन्द्रेश्वर मण्डल तथा कोशी र मधेश प्रदेशअन्तर्गतका जनप्रतिनिधिले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका सन्दर्भमा सुरु गरिएका छलफल र भइरहेका कामबारे जानकारी गराएका थिए ।
उनीहरूले केन्द्र सरकारको बजेटमा समेटिनुपर्ने कतिपय महत्त्वपूर्ण विषयबारे पनि ध्यानाकर्षण गराएका थिए । पार्टी सातवटै प्रदेशका पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई यस्तै विषयमा दिशानिर्देश गर्ने एमाले प्रचार विभाग सदस्य श्रीधर आचार्यले जानकारी दिए ।
प्रतिक्रिया