प्रदेश लगानी सम्मेलन : ढुक्क भएर लगानी गर्न ओलीको आग्रह

नेपालखोज २०८२ वैशाख १८ गते १४:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।

कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गरे ।

कोशी प्रदेश पूर्वाधार विकासका साथै सडक सञ्जालसँग जोडिएको जनाउँदै प्रधानमन्त्री ओलीले लगानी गरेर उत्पादन बजारमा पुर्‍याउने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व-पश्चिम राजमार्ग निर्माण भइसक्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले उत्पादित सामग्री कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लैजान सक्नेगरी सडक पूर्वाधार निर्माण भइसकेकाले बजारीकरण र ढुवानीमा कुने असहजता नहुने धारणा राखे ।

प्रधानमन्त्री ओलीले अन्तरराष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान गर्न, रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षा गर्न सरकार सदैव तत्पर रहेको पनि लगानीकर्तालाई अवगत गराए ।

प्रतिक्रिया