पत्रकार महासङ्घद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । विश्वभर हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।
सोही अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा महासङ्घको केन्द्रीय कार्यालयमा नसर्ने रोगको परीक्षण गरिएको हो । शिविरमा बिएमआइ (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह, मृगौलासम्बन्धी जाँच गरिएको थियो । पाठेघरको मुखको स्क्रिनिङ भने नाम टिपाएकाहरुले पायक पर्ने सरकारी अस्पतालमा गर्न सकिने आयोजकले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मानिसको व्यस्तता बढेसँगै जीवनशैलीमा परिवर्तन आएका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको बताए ।
जनस्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख वसन्त अधिकारीले नियमित व्यायाम तथा स्वस्थ खानपानमा ध्यान दिँदा नसर्ने रोगबाट बच्ने सकिने बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले समाचारलाई पहिलो प्राथमिकतामा राख्ने पत्रकारहरुले स्वास्थ्यको ध्यान सोचेजस्तो राख्न नसकेको बताए ।

प्रतिक्रिया