स्पार्क कारको आयोजनामा तेस्रो स्पार्क एड्भेञ्चर, सोलुखुम्बुको गौरीटापमा ‘गेट वे टु एभरेष्ट’

काठमाडौं । यात्रुहरुका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गर्ने भएको छ ।
‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए । काठमाडौँबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो ।
समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ ।
सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण रहेको गौरीटाप क्षेत्रका संरक्षण एवम् प्रवद्र्धन अभियन्ता लौरेश्वर बाबाले बताए ।
चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरीटाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरुको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ ।
स्पार्क एड्भेञ्चरमा सरकारी तथा गैरसरकारी संस्थाका उच्च अधिकारी, व्यवसायी, कलाकार, पर्यटनकर्मी तथा पत्रकारलगायत दुई सयभन्दा बढीको सहभागिता रहनेछ । स्पार्क एड्भेञ्चरको पहिलो दिन वैशाख २६ गते काठमाडौँबाट गौरीटाप, पत्तालेसम्म विद्युतीय सवारीमा रोमाञ्चक यात्रा हुनेछ । पहिलो दिन गौरीटापमा टेन्ट क्याम्पमा बसाइ हुनेछ । सहभागीहरुले प्रकृतिको आनन्द उठाउँदै रैथाने परिकारको स्वाद लिनेछन् ।

प्रतिक्रिया