एआईको प्रयोगबारे अन्तर्क्रियात्मक प्रशिक्षण सम्पन्न

नेपालखोज २०८२ वैशाख १८ गते १८:५४

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगसम्बन्धी एकदिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको प्रचार–प्रसार तथा प्रकाशन विभाग र टीम आईटीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

ललितपुरको चाकुपाटस्थित युनिभर्सल इन्जिनीयरिङ एण्ड साइन्स कलेजको सभाकक्षमा वैशाख १३ गते आयोजित कार्यक्रममा ‘पार्टीको प्रचार–प्रसारमा एआईको प्रयोग : वर्तमान र भविष्य’ शीर्षकमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ इन्जिनीयर अस्गर अलि र एसोसिएट प्रोफेसर डा. इन्जिनीयर समीर खरेलले छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिएका थिए ।

इन्जिनीयर अलीले ‘हाल नेकपा एमालेले प्रयोग गरिरहेको आईटी र एआईसम्बन्धी जानकारी’ र इन्जिनीयर खरेलले ‘इम्पावरिङ पोलिटिकल लिडरशिप विथ साइबरसेक्युरेटी एण्ड एआई: टुल्स फर ट्रष्ट, इफिसेन्सी एण्ड इन्फ्लुयन्स’ शीर्षकमा प्रशिक्षण दिएको बागमती प्रदेश सम्पर्क कमिटीका उपाध्यक्ष समेत रहेका विभाग प्रमुख सरोजमोहन लामाले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षकद्वय अली र खरेलले हातहातमा स्मार्ट फोन पुगिसकेको वर्तमान अवस्थामा त्यसको स्मार्ट प्रयोग गर्नुपर्नेमा जोड दिए ।

फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप, एक्स, युट्युब र टिकटकलगायत सामाजिक सञ्जालमार्फत विभिन्न सूचना सुरक्षित र प्रभावकारी ढङ्गले कसरी सम्प्रेषण गर्ने भन्ने विषयमा उनीहरूले सहभागीलाई जानकारी दिए ।

यस्तै, उनीहरूले सूचना प्रविधिको उच्चतम विकास भएको अहिलेको युगमा सामाजिक सञ्जालबाट प्राप्त गरिने भ्रामक, मिथ्या र कपोलकल्पित सूचना, समाचार र भिडिओलाई चिन्ने र त्यस्ता सूचनाहरूको शिकार हुनबाट बच्ने विधिहरूबारे पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया