मनमोहन स्मृति क्रिकेट : पुलिस क्लब फाइनलमा

मोरङ । नेपाल पुलिस क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा समूह ‘बी’मा रहेको पुलिस क्लबले आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी फाइनलमा स्थान बनाएको हो । यस अघि समूह ‘ए’ बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव दुई बलमा सबै विकेट गुमाएर एक सय ५४ रन बनायो ।
आसामका लागि राज विश्वासले ३३ रन, अरुण सोनारले ३१, केभिन सञ्जिव क्रिस्टोफरले २३, हियेन कश्यपले १९ र कप्तान गोकुल शर्माले १० रन बनाए । बलिङतर्फ पुलिस क्लबका श्रवण यादव र अरुण ऐरीले तीन/तीन विकेट लिए ।
एक सय ५५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव एक बलमा चार विकेटको क्षतिमा प्राप्त गर्यो । पुलिसका लागि ‘प्लेयर अफ दी म्याच’ कप्तान अमित श्रेष्ठले ७२ बलमा तीन छक्का र पाँच चौकामो मद्दतमा अविजित ७१ रन योगदान दिए ।
यस्तै शङ्कर रानाले ६७ बलमा चार छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रन बनाए । बलिङतर्फ आसामका कप्तान गोकुल शर्माले तीन विकेट लिए । फाइनल खेल आर्मी र पुलिस क्लबबीच शनिबार हुनेछ ।
प्रतिक्रिया