अमेरिकी व्यापार वार्ताको प्रस्तावप्रति चीन खुला तर भन्सार शुल्क समाप्त गर्ने चाहना

काठमाडौं । चीनले शुक्रबार भन्सार शुल्कमा वार्ताका लागि अमेरिकी प्रस्तावको मूल्याङ्कन गरिरहेको तर वार्ता सुरु हुनुअघि विश्वव्यापी बजार र आपूर्ति शृङ्खलालाई हल्लाएको कर हटाउन वासिङ्टन तयार हुनुपर्नेमा जोड दिएको छ ।
धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको अमेरिकी भन्सार शुल्क अप्रिलमा लागु भएको थियो भने बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत ताजा भन्सार शुल्क लगाएको छ । स्मार्टफोन, सेमिकन्डक्टर र कम्प्युटरजस्ता उच्च-स्तरका प्राविधिक वस्तुले अमेरिकी भन्सार शुल्कबाट अस्थायी छुट पाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले भन्सार शुल्कमा वार्ताका लागि सम्पर्क गरेको बारम्बार दाबी गरेका छन् र यस हप्ता उनले ‘हामी सम्झौता गर्न जाँदैछौँ’ भन्ने धेरै राम्रो सम्भावना रहेको विश्वास गरेको बताए ।
बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबार अमेरिकाले सम्पर्क गरेको र यो प्रस्तावको ‘हाल मूल्याङ्कन’ गरिरहेको बताएको छ । तर मन्त्रालयले कुनै पनि वार्ताका लागि पहिले अमेरिकी पक्षबाट छुट चाहिने बताएको छ ।
साङ्घाईको फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिजका निर्देशक वु सिन्बोले बेइजिङले कठोर धारणा अपनाउने सम्भावना रहेको बताए ।
दर्जनौँ देशले वासिङ्टनसँग सम्झौता गर्न र उच्च, देश-विशिष्ट दरहरूबाट बच्न जुलाईमा समाप्त हुने ९० दिनको समयसीमा सामना गर्नुपरेको छ ।
यसको विपरित चीनले यदि आवश्यक परेमा व्यापार युद्धलाई अन्तिम क्षणसम्म लड्ने बताएको छ । यस हप्ता चीनको विदेश मन्त्रालयद्वारा सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोले ‘कहिल्यै पनि घुँडा नटेक्ने १’ प्रतिज्ञा गरेको छ । रासस
प्रतिक्रिया