आकर्षणको केन्द्र बन्दै छहरे झरना

ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका-३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षको केन्द्र बनेको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो ।
गाउँपालिकाले विसं २०७५ देखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ । घना जङ्गलबाट पहरामा ठोकिँदै झर्ने झरना निकै मनमोहक छ । पर्यटकलाई आकर्षित गर्नका लागि झरना वरपर मन्दिर, भजनकीतनस्थल, रेलिङसहितको पदमार्ग, विश्रामस्थल निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
झरना नजिकै ‘पिकनिक स्पट’ निर्माण गरेको हुँदा पछिल्लो समय टाढा-टाढाबाट वनभोज खानका लागि यहाँ आउने सङ्ख्या बढेको उनले बताए ।
गाउँपालिकाले हालसम्म पूर्वाधार निर्माणमा ६० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको बताउँदै अध्यक्ष शर्माले यस झरनाभन्दा केहीमाथि रहेको अर्को ठूलो भैँसे झरना प्रवर्द्धनका लागि पनि काम गर्न थालेको बताए ।
बरेङ गाउँपालिका-४ का यमबहादुर क्षेत्रीले पहिले ओझेलमा रहेको झरना हाल पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको बताए ।
झरनाको छेउमा मन्दिर निर्माण गरिदिएपछि पूजा गर्नका लागि आएका दर्शनार्थी झरनामा पुगेर स्नान गर्ने गरेको उनको भनाइ छ । पहिले गुमनान रहेको झरना यसरी व्यवस्थित होला भनेर कल्पना पनि नगरेको क्षेत्री बताउछन् ।
प्रतिक्रिया