‘सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सफलता प्राप्त होस् भन्ने विश्वास व्यक्त गरेका हुन् ।
प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुने र यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत उल्लेख गर्दै राष्ट्रपपित पौडेलले समग्र समाजको लोकतान्त्रीकरणको अभियानको प्रेस स्वतन्त्रता महत्त्वपूर्ण पक्ष हो भनेका छन् ।
समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले अफवाहले नागरिकहरूलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्या नहुने गरी स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मिहिनेत गर्नुपर्नेमा जोड दिए ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने कतिपय मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा समग्र व्यवस्थालाई कमजोर बनाउने चुनौती हाम्रा सामु रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना व्यक्त गरे ।
प्रतिक्रिया