शनिबार, वैशाख २०, २०८२

आपसी मित्रता, प्रेम र सद्भाव जगाउन आवश्यक : राष्ट्रपति

नेपालखोज २०८२ वैशाख २० गते १२:४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् । उनले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति पौडेलले काठमाडौं नागार्जुन-७ रामकोटस्थित बद्रिनारायण धाम उद्‌घाटन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै याे धारणा व्यक्त गरेका हुन् ।

‘हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ । यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्छ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ’, उनले भने।

उनले आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको बताउँदै आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेको यही कारण हो भने ।

सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ हुन्छ भन्दै उनले यस्तो आध्यात्मिक केन्द्र नेपालकै राजधानी काठमाडौंको पश्चिमी पवित्र भू-भागको सुगम स्थलमा अब हामीले पाएको बताए ।

राष्ट्रपति पौडेलले वैदिक सनातन संस्कृति र परम्परामा रहिआएको विश्वासअनुसार अत्यन्त महत्वपूर्ण मानिएको बद्रिधाम निर्माणले खुसी ल्याउने विश्वास व्यक्त गरे । उनले यस धामले नेपालको पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक समुन्नतिमा पनि टेवा पुग्ने बताए ।

प्रतिक्रिया