‘विश्वका विविध संकटसँग जुध्न युवा तयार हुनुपर्छ’

काठमाडौं । विश्वले बेहोरिरहेका तीन वटा संकटसँग जुध्नका लागि युवा तयार हुनु पर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जोड दिएका छन् ।
कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘युथ भिजन २०३५ मा युवा सरोकार’ विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
प्राकृतिक र जैविक विविधता सन्तुलन नै अहिले आवश्यकता भएको उनको ठहर छ । नेपालका युवाका लागि स्थापना गरिएको सर्टिफिकेट धितो राखेर रिण लिने व्यवस्थाको कार्यान्वयन नहुँदा र युवा स्वरोजगारको प्रभावकारिता नहुँदा अन्यौलता थपिएको महरले भने ।
एउटा सिटिजन साइन्सका रुपमा युवाले प्राकृति संकटसँग जुध्न भूमिका निर्वाह गर्नुपर्ने र विज्ञान, प्रविधिको उचित ज्ञानले भरिपूर्ण हुनु पर्ने महरले औंल्याएका छन् । युवाले मेरो र मेरो सन्ततिको भविश्यका लागि भन्दै समाजमा सचेतना जागृत गर्नुपर्ने र आफैँ सक्रिय हुनुपर्ने महरले बताए ।
नेपालले निर्माण गर्न लागेको युथ भिजन २०३५ ले यस्तो खाले संकटसँग जुध्न प्रस्ट खाका कोर्नुपर्ने उनको धारणा छु ।
युवाका लागि चाहिने खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार ,मनोरञ्जन राज्यले दिनुपर्ने महरले बताए। युवा पनि राष्ट्र प्रेमले ओतप्रोत हुन आवश्यक रहेको उनले औंल्याए । उनले पाठ्यक्रम नै युवा मैत्री हुनुपर्ने बताएका छन् । विश्वमा व्याप्त समस्या समाधानमा युवाले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने ज्ञान पाठ्यक्रममै समाविष्ट हुनुपर्नेमा महरको जोड छ ।
प्रतिक्रिया