प्रथम लायन्स अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको सेमिफाइनल समिकरण पुरा

काठमाडाैं । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबार भएको दोस्रो खेलमा आर्मीसँग हारेपनि पुलिस पनि सँगै सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ ।
समूह ‘ए’बाट अर्को विभागी टीम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल रह्यो । आर्मीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जितेको हो ।
आर्मी र पुलिससँग समान अंक रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अंकका आधारमा पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।
यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपिएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । इरानी टोली समूह विजेता र एपिएफ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो ।
सेमिफाइनलका खेल आइतबार हुनेछन् । पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह बीको उपविजेता टीम त्रिभुवन आर्मीबीच हुनेछ । उक्त खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।
दोस्रो सेमिफाइनल खेल समूह बी विजेता नेपाल पुलिस क्लब र समूह ए उपविजेता टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।
प्रतिक्रिया