पाकिस्तान र इरानबाट झन्डै १७ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार तीन हजार १७२ अफगान परिवारका १६ हजार ७६४ जना नागरिक आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
स्वदेश फर्किनेहरू पूर्वी ननगहार प्रान्तको तोर्खाम नाका, दक्षिणी कान्धहारको स्पिन बोलदक नाका, पश्चिमी हेरातको इस्लाम कला नाका, पश्चिमी निमरोजको अब्रिशम नाका र दक्षिणी हेलमन्दको बहरामचा नाकाबाट अफगानिस्तान प्रवेश गरेका छन् ।
आयोगले ती स्वदेश फर्किएकाहरूलाई अस्थायी बसोबास, खाना, पानी, स्वास्थ्य सेवा र उनीहरूको गृह प्रान्तसम्म पुग्ने यातायात सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोग (यूएनएचसीआर)का अनुसार सन् २०२५ अप्रिल १ देखि २४ सम्मको अवधिमा मात्र पाकिस्तानबाट करिब एक लाख २० हजार अफगान नागरिक स्वदेश फर्किएका छन् ।
हाल विश्वभर करिब ७० लाख अफगान शरणार्थी विदेशमा बसोबास गरिरहेका छन्, जसमा धेरैजसो अनौपचारिक रूपमा इरान र पाकिस्तानमा रहेका छन् ।
हालै पाकिस्तान र इरान सरकारले ती अनधिकृत रूपमा बसेका अफगान नागरिकहरूलाई स्वदेश फर्कन अनुरोध गरेका छन् ।रासस/सिन्ह्वा
प्रतिक्रिया