नेपाल स्मार्ट शहरसम्बन्धी सूचक स्वीकृत गर्ने सरकारकाे निर्णय

नेपालखोज २०८२ वैशाख २१ गते १३:२७

काठमाडाैं । सरकारले नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरु स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल स्मार्ट शहरसम्बन्धी सूचक २०८१ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिनुभएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने नेपाल हज समिति(गठन तथा सञ्चालन) आदेश २०८१ स्वीकृत गर्ने र स्वस्थ्य बीमा (पहिलो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रतिक्रिया