सोमबार, वैशाख २२, २०८२

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख २२ गते १३:२९

गाजा । सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । गाजाको उत्तरपश्चिममा तीनवटा अपार्टमेन्टमा भएको इजरायली हमलामा १५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताएका छन् ।

उनका अनुसार प्रभावित हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका थिए । गाजा सहरको उत्तरमा रहेको बेत लाहियास्थित एक घरमा भएको आक्रमणमा थप चार जनाको मृत्यु भएको चार जना घाइते भएको जनाइएको छ । इजरायली सेनाले भने हमलाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

इजरायलले १८ मार्चमा प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमण पुनः सुरु गरेदेखि गाजा पट्टीमा निरन्तर हमला गरिरहेको छ । इजरायलले मार्च २ देखि सबै क्षेत्रमा सहायता प्रवेश अवरुद्ध गरेको थियो । इजरायलले नाकाबन्दी र विस्फोट गाजाका बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाब दिने उद्देश्यले भएको बताइएकोे छ । सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणमा अपहरण गरिएका ५८ जना बन्धकहरू अझै पनि बन्धक जीवन विताइरहेका छन् ।

बन्दकमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ । एएफपीका अनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको थियो । इजरायली सेनाको जवाफी कारबाहीमा गाजामा कम्तिमा ५२ हजार ५३५ जनाको मृत्यु भएको हमासद्वारा नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया