राष्ट्रिय महिला हक्कीको च्याम्पियन बन्यो आर्मी

काठमाडौं । नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । सिङ्गल राउन्ड रोबिन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । चार टोली सहभागी प्रतियोगितामा अपराजित आर्मीले सर्वाधिक ९ अङ्क जोड्यो ।
च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा आज गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित ग¥यो । आर्मीका लागि दमरा भट्टले २ तथा सीतामाया बलले १ गोल गरे । दमरा फाइनलको ‘प्लेयर अफ दी म्याच’ बनिन् । गण्डकी २ मा जित र १ मा हार बेहोर्दै ६ अङ्कसाथ दोस्रो भयो ।
नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगितामा ३ अङ्कका साथ मधेश प्रदेश तेस्रो भयो । मधेशले बागमती प्रदेशलाई १–० गोलले हरायो । सो टोलीकी भावाना राईले निर्णायक गोल गरिन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार हात पारे ।
आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन् भने मधेशकी खुश्बुकुमारी उदियमान खेलाडी बनिन् । गोलरक्षकमा अनिशा थापा मगर तथा डिफेन्समा सोनु बराल उत्कृष्ट ठहरिए ।
दुवै गण्डकीका हुन् । प्रतियोगिताभर ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट पाँचैले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
प्रतिक्रिया