व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने संस्कार ‘थच्याङ’ !

मुस्ताङ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र-३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने संस्कार हो । ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष कटेपछि त्यस्ता व्यक्तिले स्वेच्छिक रूपमा थच्याङ गर्छन् ।
‘थच्याङ’को शाब्दिक अर्थ सामाजिक बन्धनबाटमुक्त हुनु हो । यो संस्कृति हिमाली भेकका ताङ्वे गुरुङ समुदायको सदियौँदेखि चल्दै आइरहेको पुरानो सांस्कृतिक प्रचलनका रूपमा लिने गरिएको छ । मुस्ताङमा अझै पनि मुखियाप्रथा विद्यमान छ । मुखियाको अगुवाइमा हरेक सामाजिक कामकाज सम्पन्न हुने गर्छ ।
गाउँसमाजको बैठक, भेला, खेतीपातीको काजदेखि गाउँमा हरेक कामका सूचना प्रवाह गर्ने कटुवाल (छो) लगायतको काम आलोपालो रूपमा समाजमा बस्नेले गर्नुपर्ने हुन्छ । समाजले तोकेको जिम्मेवारी पूरा नगरेमा वा कुनै कार्यहरूमा अनुपस्थित भएमा समाजलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।
समाजले तोकेको यस प्रकारका जिम्मेवारीबाट छुटकारा पाउन ताङ्वे समुदायका गुरुङले ५७ वर्ष पुगेपछि थच्याङ गर्ने प्रचलन अझै जीवन्त रहेको ताङ्वे समाजकी अगुवा सङ्गीता ताङ्वे गुरुङले जानकारी दिए ।
प्रतिक्रिया