बुधबार, वैशाख २४, २०८२

गण्डकी कप महिला फुटबल आगामी असारमा

नेपालखोज २०८२ वैशाख २४ गते ११:३२

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार अन्तिम साता पोखरा रङ्गशालामा हुने भएको छ । गण्डकी प्रदेश फुटबल सङ्घको आयोजना हुने उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असार २८ गतेदेखि साउन ३ गतेसम्मको समय दिएको सङ्घले जनाएको छ ।

गण्डकी प्रदेशमा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको उक्त महिला फुटबल प्रतियोगितामा नेपाली सेना(त्रिभुवन आर्मी क्लब), सशस्त्र प्रहरी बल (एपिएफ) लगायत आठ टिमले सहभागीता जनाउने सङ्घका महासचिव विनोद गुरुङले जानकारी दिए । ‘एन्फा’को स्वीकृतिसँगै प्रतियोगिताको तयारी अगाडि बढाइएको उनको भनाइ छ ।

पोखरामा महिला फुटबलको गतिविधि न्यून भइरहेका बेला राष्ट्रियस्तरको प्रतियोगिता हुने भएपछि यहाँका खेलप्रेमीसमेत उत्साहित बनेका छन् । महिला फुटबलको विकासलाई केन्द्रमा राखेर पहिलोपटक गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको महासचिव गुरुङले बताए ।

उनका अनुसार गण्डकीमा महिला फुटबलको गतिविधि बढाइएमा विभागीय टिमसँग प्रतिस्पर्धा गर्न सक्ने गण्डकीको आफ्नै बलियो टिम बन्नेछ । महिला फुटबललाई अघि बढाउनकै लागि बागमती गोल्डकपमा गण्डकीको टिमलाई सहभागी गराइएको महासचिव गुरुङले बताए ।

प्रतिक्रिया