एनआरएनएलाई एकताबद्ध बनाउन संस्थापक तथा पूर्व अध्यक्षले दिए सुझाव

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेले नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई वास्तविक एकताका साथ एनआरएनको अभियानलाई अघि बढाउन सुझाव दिएका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि गठित उच्चस्तरीय समितिमासमेत रहेका महतो र लामिछानेले एकताको महाधिवेशन भने बहिष्कार गरेका थिए । तर, महेश कुमार श्रेष्ठ नेतृत्वको सिङ्गो कार्यसमिति होटेल हायातमा भएको महाधिवेशनबाट सर्वसम्मत चयन भएपछि पहिलो पटक सिङ्गो कार्यसमितिलाई महतोले आफ्नै निवासमा बोलाएका थिए । सो भेटमा लामिछाने पनि सँगै थिए भने अर्का पूर्व अध्यक्ष भवन भट्ट अधिवेशनदेखि नै श्रेष्ठ सँगसँगै रहेका छन् ।
भेटमा महतोले एनआरएनका सही योद्धा भन्दै सम्बोधन गरे । उनले सबैले इगो त्यागेर एकताको वातावरण बनाउनका लागि अहिलेका साथीहरूले भूमिका निर्वाह गर्नु पर्ने बताए । सबै एनआरएनहरू एक ठाउँमा नआउँदा सम्म प्राप्त उपलब्धि पनि संस्थागत नहुने र आगामी दिन झनै अप्ठेरो हुनेतर्फ उनले सचेत गराएको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
भेटका क्रममा अनलाइन भोटिङको आफूले सबैभन्दा पहिला विरोध गरेको स्मरण गराउँदै महतोले नेपालको हितका लागि पनि सबै काठमाडौँमा जम्मा भएर अधिवेशन गर्ने पक्षमा आफू रहेको बताए । विगतमा तीन अध्यक्ष हुँदा होटेल हिमालयको प्रसङ्ग कोट्याउँदै सर्वसम्मत भएकाले आफू त्यहाँ सहभागी भएको र चुनावमा अहिलेसम्म आफूले कसैलाई भोट नहालेको उनले बताएका थिए । उनले अहिले पनि केही साथीहरू बाहिर रहेको बताउँदै एकताको वातावरण बनाउनका लागि श्रेष्ठ नेतृत्वले त्यसमा बढी पहल गर्नु पर्नेमा जोड दिए ।
उनले आफू होटेल हायातमा नगएको बताउँदै अरू साथीहरूले अक्टोबरमा गर्न लागेको अधिवेशनमा पनि सहभागी नहुने प्रस्ट पारे ।एकताको वातावरण बनाउनका लागि एनआरएनसम्बन्धी अदालतमा विचाराधीन सबै मुद्दाहरू फिर्ता लिएर सहमतिको वातावरण बनाउन उनले सबैलाई अपिल पनि गरे । अदालतको परमादेशपछि एनआरएन सचिवालयबाट तीन जना अध्यक्षहरूको फोटो हटाइएको विषयमा बद्री केसीले गल्ती गरेको उनले टिप्पणी गरे ।
‘गल्ती सबैबाट भएको छ, अब एनआरएनएको विषय ‘इनफ इज इनफ’ । सबै एक ठाउँमा आउने वातावरण बनाउन पहल गरौँ,’ महतोको भनाई थियो ।
प्रतिक्रिया